आगामी बजेटमा कनिका छरेजस्तो कार्यक्रम राखिँदैनः प्रधानमन्त्री दाहाल


काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा सबैलाई खुसी पार्ने गरी कनिका छरेजस्तो कार्यक्रम नराखिने बताएका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्री दाहालले कनिका छरेजस्तो कार्यक्रम नराखिने बताउँदै अधुरा आयोजनाहरूको निर्माण सक्न जोड दिइने बताएका हुन् ।

साथै प्रधानमन्त्री दाहालले परम्परागत ढंगको नीति तथा कार्यक्रम र बजेटले देशको समस्या समाधान नहुने पनि बताए ।उनले पुराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाने अवस्था हटाउनुपर्नेमा जिकिर गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘बिना सम्भाव्यता अध्ययन, बिना उपयोगिता जहाँ पनि विकासका योजना माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र बिनियोजित बजेट पनि फ्रिज जाने बिडम्वना छ,’ उनले भने,‘ त्यसबाट हामी माथि उठ्नैपर्छ।’