हिमालयन बैंकको नाफा साढे ५७ प्रतिशतले बढ्यो

हिमालयन बैंकको नाफा साढे ५७ प्रतिशतले बढ्यो


काठमाडौं– हिमालयन बैंकको नाफा ६ महिनामा ५७.५३ प्रतिशतले बृद्धि भएको छ। बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०\ ८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले बृद्धि भएकाे देखाएको हो।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषको आकार पनि १८.२२ प्रतिशत बढाएर १७ अर्ब ९८ करोड ८३ लाख रुपैयाँ पुर्याएको छ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ५७.५३ प्रतिशत बढी हो। गत आवको सोही अवधिमा बैंकले ९५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको संचालन नाफा र खुद ब्याज आम्दानीमा आएको बढोत्तरीले नै खुद नाफा वृद्धिमा टेवा पुगेको हो। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ रुपैयाँ कायम भएको छ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.२५ प्रतिशत बढेर २ खर्ब ९८ अर्ब ३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी पनि ३.९६ प्रतिशत बढाएर २ खर्ब ३६ अर्ब ४० करोड ९ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ४.९५ प्रतिशत पुगेको छ। गत आवको दोस्रो त्रैमासमा बैंकसँग ३.७७ प्रतिशत मात्रै खराब कर्जा थियो।

समिक्षा अवधिमा बैंकको संचालन नाफा पनि ५९.२१ प्रतिशत बढेर २ अर्ब २१ करोड १७ लाख रुपैयाँ कायम भएको छ । तर, बैंकको वितरणयोग्य नाफा भने ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ ऋणात्मक छ।