फर्केर हेर्दा

अंग्रेजी वर्ष २०२३ः कुन महिनामा घटे कस्ता घटना ?

अंग्रेजी वर्ष २०२३ः कुन महिनामा घटे कस्ता घटना ?


जनवरी


विमान दुर्घटना

सन् २०२३ नेपालका लागि खासै सुखद रहन सकेन । जनवरी अर्थात् वि.सं. २०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले देशमा मात्र नभई विदेशमा पनि खलबलि मच्चायो । ७२ जनाको ज्यान लिएको उक्त दुर्घटनाबाट नेपालको आकाश सुरक्षित नभएको महशुस गरियो । तर १२ महिना पछि २९ डिसेम्बरमा जाँचबुझ समितिले दुर्घटना ‘मानवीय त्रुटि’ को कारण भएको निष्कर्ष निकाल्यो ।
प्रेम आचार्यको आत्मदाह
२०७९ माघ १० गते इलामका प्रेम आचार्यले संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए । आफू माथि ऋण थुप्रिएको र यसको लागि सरकारी नीति दोषी भएको उल्लेख गर्दै आफु आत्महत्या गर्न बाध्य बनाएको सुसाइड नोटमै लेखिएको थियो ।
रवि लामिछाने नागरिकता प्रकरण
प्रतिनिधिसभा निर्वाचन जितेका रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिएको नदेखिएको र पहिलाकै नागरिकता देखाएर निर्वाचन आयोगमा दल दर्ता गरेको भन्ने दाबीसहित उनीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । त्यसपछि उनी पदमुक्त भएका थिए । लगत्तै उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको पमाणपत्र लिएका थिए । त्यसपश्चात उनी चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा विजय भएका थिए ।
फेब्रुवारी
राष्ट्रपति निर्वाचन

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिएपछि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका थिए । ३३ हजार ८ सय २ मत भार प्राप्त गर्दै पौडेल तेस्रो राष्ट्रपति बने ।
टर्की र सिरिया भूकम्प
टर्की र सिरियामा फेब्ररी ६ गते भूकम्पमा गएको थियो उक्त भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ११ हजार बढी पुगेको थियो । ज्यान गुमाउनेहरूमा टर्कीका ८ हजार ५ सय ७४ जना र सिरियाका २ हजार २ सय ६२ जना रहेको थिए ।
मार्च
घट्यो जनसंख्या

यही महिनामा नेपाल सरकारले नेपालको जनगणनाको प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा २०७८ सालको जनसंख्या भन्दा घटेर नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५सय ७८ पुग्यो ।

अमेरिकामा डुबे ३ बैंक
अमेरिकाका सिलिकन भ्याली, सिग्नेचर र फस्ट रिपब्लिक बैंक डुबेका थिए । अमेरिका बैंक डुबेको यस खबरले विश्वभर आर्थिक मन्दी आउने त्रास फैलिएको थियो ।
मिटर ब्याज पीडितहरूको आन्दोलन
यसै महिनामा नेपालमा मिटर ब्याज पीडितहरूको आन्दोलन चर्कियो । विशेष गरी मधेश प्रदेशबाट आएर माइतीघरमा मिटरब्याज पीडितहरूले हप्तौंसम्म आन्दोलन गरे ।
अप्रिल
ललितानिवास जग्गा प्रकरण

यो महिना ललितानिवास जग्गा खरिदबिक्री सतहमा आयो, सर्वत्र चर्चा र चासो रहेको यो घटनामा रुक्म शमसेर राणादेखि कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, केपी ओली, शोभाकान्त ढकाल, रामकुमार सुवेदी, विष्णु पौडेल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, प्रेमकुमार राई र शारदाप्रसाद त्रितालसमेतले जग्गा अपचलन गरेको आरोप खेप्नु परेको थियो । सोही काण्डमा संलग्न रहेको भनिएका युक्त प्रसाद श्रेष्ठले माछापोखरी स्थित हिमालय सिटी सेन्टरबाफालेर आत्महत्या गरेका थिए ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश: भारत
२०२३ मा यो महिनाले भारतलाई विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशको रुपमा परिचित गर्यो । युनाइटेड नेसन्स पपुलेसन फन्ड (यूएनएफपीए)ले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार चीनलाई पछि पार्दै भारत सबैभन्दा बढी जनसंख्या भएको देश बनेको हो ।
उपनिर्वाचनः राजस्वपाको पल्ला भारी
यो महिनामा बारा, चितवन र तनहुँमा उपनिर्वाचन सम्पन्न भयो। जसमा चितवन–२ मा रास्वपाका सभापति रबी लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट स्वर्णिम वाग्ले विजयी भएका थिए । बारा–२ बाट भने जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।
मे
नक्कली भुटानी शरणार्थी प्रकरण

यो महिना नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि नेपालका उच्च पदस्थ व्यक्ति संलग्न रहेका खुलासा भएको थियो । पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित २१ जनाविरुद्ध उजुरी परेको थियो । जसको छिनोफानो हालसम्म पनि हुन सकेको छैन । केही दिन अघि मात्र उच्च अदालत पाटनले पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी लगायतलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्यो ।
जुलाई
‘६१ केजी सुन प्रकरण’

यस्तै जुलाईमा भएको अन्तरदेशीय संगठित गिरोह संलग्न रहेको ‘६१ केजी सुन प्रकरण’ सुन काण्डले खैलबैला मच्चायो उक्त सुन प्रकरणमा पाँच कर्मचारी, ९ जना विदेशी नागरिकसहित २९ जनाविरुद्ध उजुरी परेको थियो ।

ट्वीटर एक्समा परिणत
जुलाई महिनामै ट्वीटरका संस्थापक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका थिए । मस्कले त्यसवखत ट्वीटरमा पोस्ट गरिने कुराहरुलाई ट्वीट्स होइन एक्सएस भनिने पनि बताएका थिए ।
भारतको चन्द्रयान–३
भारतले जुलाई १४ मा चन्द्रमाका लागि रकेट पठाएको थियो । चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेपछि भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक बनेको थियो ।
अक्टोबर
इजराइल युद्ध

प्यालेस्टिनी लडाकु समूह हमासले इजेरलमाथि हमला गरेर गाजा स्ट्रिपनजिकै इजरेली वस्तीहरूमा प्रवेश गरी सयौँ मानिसलाई मारिदिए भने थुप्रैलाई बन्धक बनाए । हालसम्म पनि चलिरहेको युद्धमा इजराइलको आक्रमणमा परी मृत्यु हुनेको संख्या २१ हजारभन्दा बढी पुगिसकेको छ । युद्धकै क्रममा हमासले नियन्त्रणमा लिएका नेपालका विपिन जोशी अझै वेपत्ता छन् । दश जना नेपालीको शव ल्याइएको थियो भने २ सय ५३ जना नेपालीलाई सकुशल नेपाल फिर्ता ल्याइयो ।

नोभेम्बर
टेरामक्स प्रकरण र एनसेल

टेरामक्स प्रविधिले नेपालमा राजश्व छली, कल घोटाला, बाइपासजस्ता अपराधलाई अख्तियारमार्फत नै निरन्तरता दिएको खुलासा भएको थियो । राज्य कोषमा हरेक बर्ष जम्मा हुनुपर्ने २४ अर्ब रूपैँया भन्दा बढी राजश्व टेलिकम अपरेटर र स्वार्थी समूहले मिलेर आर्थिक अनियमितता गरेको बताइएको थियो । साथै टेरामेक्स प्रणालीको खरिद प्रक्रियामा भ्रष्टाचार गरेको अभियोगमा मुख्य सचिव बैकुण्ठ अर्याल, तत्कालीन सञ्चारमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतमाथिसमेत उजुरी परेको थियो ।
कल बाइपासमा संलग्न भई राजश्व छली गर्ने निजी कम्पनीको रुपमा एनसेल अग्र स्थानमा देखिएको थियो । योसँगै मलेसियन टेलिकम कम्पनी आजिआटाले आफ्नो ८० प्रतिशत सेयर थाहै नदिई बेलायतमा हालै दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीसँग बिक्री गर्ने सम्झौता गरेपछि यस विषयको छानबिन जारी छ ।
विश्वकप छनोट
नेपाली क्रिकेट जगतका लागि ठूलो सफलताको रुपमा विश्वकप छनोटलाई हेर्न सकिन्छ । युएईलाई पराजित गर्दै नेपाल १० वर्षपछि विश्वकपमा पुगेको छ ।
जाजरकोट भूकम्प
नोभेम्बर ३ मा गएको ६.४ म्याग्निट्युडको जाजरकोट भूकम्पले आर्थिक क्षति मात्र होइन, मानविय क्षति समेत बेहोर्नुपर्यो । १ सय ५७ जनाको ज्यान लगेको उक्त भूकम्पमा ३ सय ३७ जना घाइते भएका थिए । जसमा नलगाड गरपालिकाकी उपमेयर सरिता सिँहको समेत ज्यान गयो ।
डिसेम्बर २९
बालकुमारी घटना

दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै युवाहरूले ललितपुरको बालकुमारीमा गरेको आन्दोलनमा गोली लागेर दुई जनाको मृत्यु हुन पुग्यो । भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएपश्चात आन्दोलनले उग्र रुप लियो । मृत्युपश्चात शनिवार पनि आन्दोलनमा उत्रिएका युवाहरुले मन्त्री ज्वाला, जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी उमेश लम्साल लगायतको राजिनिमा माग गरेका थिए । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मागअनुसार इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीमुक्त, ललितपुरका सिडिओ रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाएको छ  । साथै सरकारले घटना नियन्त्रणमा कमान्ड गर्न नसकेका जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पिएसओ बोधराज दनुवारलाई निलम्बन गरेको छ  । मृतकका परिवारलाई १०–१० लाख क्षतिपूर्ति दिने निर्णय सरकारले गरेको छ ।