डिजिटल कारोबारको संख्या १८ प्रतिशतले बढ्दा कारोबार रकम १९ प्रतिशतले बढ्यो

डिजिटल कारोबारको संख्या १८ प्रतिशतले बढ्दा कारोबार रकम १९ प्रतिशतले बढ्यो

मोवाइल र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता पनि बढे


काठमाडौं–पछिल्लो समय डिजिटल (अनलाइन) वित्तीय कारोबार तीव्र गतिमा बढिरहेको छ । भुक्तानीका सधान मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गसँगै विविध भुक्तानीका माध्यमहरु जस्तै वालेट, कनेक्ट आइपीएस, डेबिट, क्रेडिट कार्डको प्रयोग बढेको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङक अनुसार विद्युतिय भुक्तानीको माध्यमबाट कारोबारको संख्या समग्रमा १८ प्रतिशतले बढेको देखिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को कात्तिक महिनामा मोवाइल बैंंकिङ्ग मार्फत २ करोड ५६ लाख भन्दा धेरै कारोबार भएको देखिन्छ भने आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा यस्तो कारोबार २ करोड ५० हजारको संख्यामा गरिएको तथ्याङकमा देखिएको छ । यस्तै इन्टरनेट बैंकिङ्गमार्फत गरिने कारोबार पनि बढेको देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को कात्तिक महिनामा इन्टरनेट बैंकिङ्गमार्फत २२ लाख ५८ हजार भन्दा धेरैको संख्यामा कारोबार भएको देखिन्छ भने आर्थिक वर्ष २०७९÷८० को सोही अवधिमा यस्तो कारोबार २ लाख ३४ हजारको संख्यामा गरिएको तथ्याङकमा देखिएको छ ।

यस्तै समग्र विद्युतिय कारोबारको रकम भने १९ प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ को कात्तिक महिनामा मोवाइल बैंंकिङ्ग मार्फत २ खर्ब १८ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ भने आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा कारोबार रकम १ खर्ब ५१ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । यस्तै, इन्टरनेट बैंकिङ्गबाट १० अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आर्थिक वर्ष २०७९÷८० को सोही अवधिमा इन्टरनेट बैंकिङ्गको प्रयोगमार्फत ११ अर्ब ७० करोडको कारोबार भएको थियो । यो तथ्याङकलाई तुलना गर्दा इन्टरनेट बैंकिङ्ग कारोबार रकम भने केही प्रतिशत घटेको देखिन्छ ।

मोवाइल र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता बढे

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालै सार्वजनिक गरेको तथ्याङकमा नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या बढेको देखिएको छ । आर्थिक वर्ष २०८०/८१ असोजको तथ्यांकअनुसार मोवाइल बैंकिङ्ग प्रयोग गर्नेको संख्या २ करोड २२ लाख ८४ हजार थियो । कात्तिकमा भने मोवाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या बढेर २ करोड २५ लाख ५ हजार पुगेको छ । आर्थिक वर्ष २०८०/८१ असोज र कात्तिकको तथ्याङकलाई तुलना गरेर हेर्दा ३ लाख भन्दा धेरै प्रयोगकर्ताहरु संख्या थपिएको छ ।
यस्तै, इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या पनि बढेको देखिएको छ । कात्तिक महिनामा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या १७ लाख ५९ हजार १ सय ८३ रहेको देखिएको छ भने गत असोजमा तथ्याङक हेर्दा इनटरनेट प्रयोगकर्ताको संख्या १६ लाख २५ हजार ९ जनाको संख्यामा रहेको थियो । गत असोज र कात्तिकको तथ्याङकलाई तुलना गरेर हेर्दा इन्टरनेट प्रयोकर्ता झन्डै १ लाखको संख्यामा बढेको देखिन्छ ।

यस्तै कनेक्ट आइपीएसको प्रयोग गर्ने प्रयोगकर्ताको संख्या भने १० हजारले थपिएका छन । आ.व असोजमा भुक्तानी प्रणालीको माध्यम कनेक्ट आइपीएस प्रयोगकर्ताको संख्या ११ लाख ६० हजार ९ सय ५६ थियो भने कात्तिकमा यो संख्या बढेर ११ लाख ७० हजार ८ सय ५५ पुगेको हो । राष्ट्र बैंकका अनुसार हाल देशभर ५ हजार ५९ एटीएम बुथ रहेका छन् । एक करोड २६ लाख ७३ हजार ५६० डेबिट कार्ड जारी भएका छन भने क्रेडिट कार्डको संख्या ३ लाख १ हजार २३६ रहेको छ ।