मोबाइल बैंकिङ्गले ल्याएको खुशी

मोबाइल बैंकिङ्गले ल्याएको खुशी

अस्मिता बम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- ‘अहिले त हातमा फोन भए सबै काम बन्छ। मलाई त क्या खुशी लाग्छ’, कीर्तिपुरकी समीक्षा साउँदले खुशी व्यक्त गरिन्। साउँदले ७ वर्षअघि बैंकमा खाता खोलेकी थिइन्। साथीहरुको आग्रहमा बैंक खाता खोले पनि उनी बैंक कारोबारमा त्यति सहज हुन सकेकी थिइनन्।

अहिले भने उनी निकै खुशी छिन्। ठूलो कारोबारको लागि बैंक लाइन बस्नुपर्ने झन्झटबाट त उनी मुक्त भइन् नै अहिले त निकै सानो कारोबार पनि उनी मोबाइल बैंकिङ्गबाटै गर्छिन्। समीक्षा एक प्रतिनिधि पात्र मात्रै हुन् उनीजस्ता कयौं बैंकका सेवाग्राहीका लागि पछिल्ला वर्षहरूमा मोबाइल बैंकिङ्ग निकै सहज बनेको छ।

कीर्तिपूरकै एक ग्रोसरीमा भेटिएका सागर ओलीले पनि मोबाइल बैंकिङ्गले आफ्नो दैनिकी सहज बनाएकोमा खुशी ब्यक्त गरे। उनले भने, ‘बैंक नगइकनै मोबाइलबाटै आफ्नो खाताको रकम हेर्न मिल्छ। सामान किन्न, नेटको बिल पनि मोबाइलबाटै तिर्छुँ। आनन्द छ।’

पाँच वर्षअघि पढाईको सिलसिलामा काठमाडौं आएका ओली आफ्नो अध्ययनको शुल्क पनि मोबाइलबाटै तिर्छन्।

सर्वसाधारण मात्रै होइन बैंककै कर्मचारी पनि मोबाइल बैंकिङ्ग आएपछि सानोदेखि ठूलो कारोबारमा सहज भएको बताउँछन्। विगत ८ वर्षदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कीर्तिपुर शाखामा कार्यरत कैलालीका हिरेन्द्र साउँदले आफूलाई पनि पहिलाकोभन्दा निकै सहज भएको बताए।

उनले भने, ‘बिहान १० बजेबाट बैंकको काम सुरु हुन्छ। स्टाफ भएकाले साढे नौ मै बैंक पुग्नुपर्छ। समय हुन्थेन। अहिले त विहान, बेलुका जति बेला मिल्छ त्यति बेला पठाउँछु।’

यसरी घरघरमै बसेर कारोबार गर्न निकै सहज हुन थालेपछि पछिल्ला वर्षहरूमा मोबाइल बैंकिङ्ग प्रयोगकर्तामा ह्वात्तै वृद्धि भएको देखिन्छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा नेपालमा २ करोड २२ लाख ८४ हजार ६२२ जनाले मोबाइल बैंकिङ्ग प्रयोग गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षका ३ महिनामा मात्रै ९ लाख २० हजार ६३३ मोबाइल बैकिंङ प्रयोगकर्ता थपिएका छन्। गत आर्थिक वर्ष २०७९/०८० को अन्तिममा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता १ करोड ८३ लाख ७ हजार २५५ जना थिए।

तथ्यांकअनुसार असोज मसान्त सम्ममा २ करोड २ लाख ७६ हजार १६१ जना वालेट प्रयोगकर्तामार्फत् २२ करोड ७९ लाख ६० हजार रुपैयाँ कारोबार भएको हो राष्ट्र बैंकले जनाएको छ। सोही अवधिमा १६ लाख २५ हजार इन्टरनेट प्रयोगकर्तामार्फत ११ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोख्रेलले जानकारी दिए।

बैंकका सहप्रवक्ता समेत रहेका पोख्रेल मोबाइल बैंकिंङ प्रयोगकर्ताको संख्या बढेसँगै ठगीजन्य अपराधिक क्रियाकलाप पनि बढेको बताउँछन्। उनी भन्छन्, ‘खाताको क्युआर कोड र पासवर्डको गलत उपयोग गर्ने, धम्क्याएर, झुक्याएर पैसा माग्ने गतिविधि पनि बढिरहेको छ, यसमा मोबाइल बैकिंङ्ग प्रयोगकर्ता सचेत रहनुपर्छ।’ मोबाइल बैंकिङ्गले कारोबारमा भने सहजता सिर्जना गरेको पोख्रेलले बताए। युवा पुस्तामा डिजिटल बैंकिंङको सकारात्मक प्रभाव बढी रहेको उनको भनाइ छ।