Breaking:रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल भ्रमणमा आउने सम्भावना, आर्थिक विकासमा रुसी लगानीको अपेक्षा

Breaking:रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल भ्रमणमा आउने सम्भावना, आर्थिक विकासमा रुसी लगानीको अपेक्षा


बैंकिङ्ग समाचार, काठमाडौँ ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले टाससँगको अन्तर्वार्तामा मस्को–काठमाडौं सम्बन्धमा उच्चस्तरीय भ्रमण गर्नुपर्ने समय आएको सुझाव दिएका छन् । उनले पुटिनलाई नेपालमा देख्दा आफू खुसी हुने र आफू रुस आउन तयार रहेको बताए । रसियन समाचार एजेन्सीहरुसँग नेपालका प्रधानमन्त्री प्रचण्डको यो पहिलो अन्तरवार्ता हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्भावित नेपाल भ्रमण वा नेपाली प्रधानमन्त्रीको रुस भ्रमणको समयबारे अहिलेसम्म सहमति भइनसकेको र यसलाई कुटनितिक पहलमा छलफल गरिनुपर्ने बताइएको छ । क्रेमलिनका प्रवक्ताले प्रश्नको जवाफमा भने, ‘होइन, त्यहाँ कुनै विशेष सम्झौताहरू छैनन्, यो कूटनीतिक च्यानलहरू मार्फत छलफल गरिनेछ ।’ यसैगरी मस्को र काठमाडौँबीच सिधा अन्तराष्ट्रिय उडानका लागि पनि प्रचण्डले पहल गरेका छन ।

नेपाल र रुसबीचको आर्थिक साझेदारीका प्रशस्त सम्भावना रहेको र त्यसको पूर्ण उपयोग हुन नसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले ताससँगको विशेष अन्तर्वार्तामा बताए । ‘हामीलाई रुससँग कुनै समस्या छैन। तर हामी आर्थिक सहयोग र यातायात कनेक्टिभिटीको पर्याप्त सम्भावनाको बारेमा धेरै चासो राख्छौं। हामीले आर्थिक सहयोग र कनेक्टिभिटीको वातावरण कसरी सिर्जना गर्ने भनेर छलफल गरेका छौं,’ उनले भने।

देशले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन आवश्यक ठानेकाले त्यसका लागि अनुकूल वातावरण सिर्जना गर्ने र लगानीकर्ता र आर्थिक विकासका अवरोध हटाउने प्रयास गरिरहेको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ताससँगको विशेष अन्तर्वार्तामा नेपालले जलविद्युत उद्योगलगायतका ठूला पूर्वाधार आयोजनाको कार्यान्वयनमा रुससँग सहकार्यको अपेक्षा गरेको बताए । ‘हाम्रो प्राथमिकता ठूला जलविद्युत आयोजना हो,’ उनले कर्णाली चिसापानी जलविद्युत् आयोजनालाई उदाहरणका रुपमा उल्लेख गरे । यसका लागि ठूलो रकम आवश्यक पर्ने प्रधानमन्त्रीले बताए । उनले भने, ‘एक दशकभित्र भारत र बंगलादेशलाई बिजुली निर्यात गर्ने सहमति भएको छ ।’