१० वटा वाणिज्य बैंकले गरे लाभांश घोषणा

१० वटा वाणिज्य बैंकले गरे लाभांश घोषणा

बोनस र नगद लाभांश दुवै दिनेमा चार वटा मात्रै


बैंकिङ्ग समाचार, काठमाडौं।
यतिबेला सरकारी स्वामित्वसहितका वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । समाचार तयार पारुन्जेल २० मध्ये १० वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसहित ९ वटा बैंकले लाभांश घोषणा गर्न बाँकी छ । लाभांश वितरणका लागि घोषणाको तयारीमा उनीहरु रहेका छन् ।

अर्थतन्त्र सुस्ताएसँगै विगत वर्षमा नगद र बोनस दुवै लाभांश दिने गरेका बहुमत संख्याका बैंक खुम्चिएका छन् । हालसम्म लाभांश घोषणा गरेका १० वटा बैंकमध्ये चार वटाले मात्रै नगद र बोनस दुवै वितरणको घोषणा गरेका छन् । नगद र बोनस दुवै दिने वाणिज्य बैंकको संख्या कम देखिएको छ ।

ग्लोबल आइएमई र सानिमा, एभरेष्ट र एसबीआई बैंकले मात्र नगद र बोनस दुवै लाभांश दिने घोषणा गरेका छन् ।

एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी २०.५३ लाभांश वितरण गरिने बताएको छ ।

एसबीआई बैंकले चुक्ता पूँजीको १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७० लाभांश वितरण गरिने जनाएको छ ।

यसैगरी ग्लोबल आइएमई बैंकले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत लाभांशमध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

बाँकी ६ बैंकमध्ये नबिल, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड र सिद्धार्थ बैंकले नगद लाभांश मात्रै वितरण गर्ने घोषणा गरेका छन् । बोनस मात्रै लाभांश वितरण गर्नेमा एनआईसी एसिया र  माछापुच्छ्रे बैंक मात्रै छन् ।