फाइनान्स कम्पनीको खराब कर्जा बढ्दा बचतकर्तामा उब्जियो शंका

फाइनान्स कम्पनीको खराब कर्जा बढ्दा बचतकर्तामा उब्जियो शंका

धराशयी बन्दै फाइनान्स कम्पनीहरू


बैंकिङ समाचार, काठमाडौं
कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जाको अनुपात पाँच प्रतिशतभन्दा कम हुनुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधान छ । पाँच प्रतिशतभन्दा बढी कर्जा खराब भए त्यस्तो संस्थाले राष्ट्र बैंकले खराब कर्जालाई तोकिएको सीमाभित्र नल्याउँदासम्म निक्षेप तथा कर्जा प्रवाहमा न्यूनतम सीमा तोकिदिने, शाखा विस्तार, नयाँ कर्मचारी भर्ना र सेवा–सुविधा थपलगायतमा तत्कालका लागि रोक लगाउने संस्थागत सुशासनसम्बन्धी कारबाही गर्ने व्यवस्था छ ।

खराब कर्जा बढ्नु कुनै पनि बैंक तथा वित्तीय संस्थाको स्वास्थ्यका लागि राम्रो होइन । बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढ्दा बचतकर्ता ग्राहकको उक्त संस्थाप्रतिको विश्वासमा कमी आउँछ ।
अहिले फाइनान्स कम्पनीमा खराब कर्जाको मात्रा निकै उच्च देखिएको छ । फाइनान्स कम्पनीहरूको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार झन्डै तीनदेखि १८ प्रतिशत हाराहारी खराब कर्जा देखिएको छ ।

कुल ८ लाख २ हजार ३ सय ३७ वटा निक्षेप खातामार्फत १ खर्ब १२ अर्ब ५४ करोड ९० लाख निक्षेप संकलन गरी ४१ हजार ९ सय १९ वटा कर्जा खातामार्फत ९२ अर्ब १४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका फाइनान्स कम्पनीमा झन्डै १८ प्रतिशत कर्जा खराब हुनु सामान्य कुरा होइन । यसले फाइनान्स कम्पनीहरू थप जोखिममा छन् भन्ने देखाउँछ ।

हाल आधा दर्जन फाइनान्सको खराब कर्जा राष्ट्र बैंकले तोकिदिएको न्यूनतम सीमाभन्दा निकै माथि रहेको छ । चालू आवको पहिलो त्रैमासमा जानकी फाइनान्समा १७ दशमलव ६०, प्र्रोग्रेसिभमा १२ दशमलव ४५, नेपाल फाइनान्समा ११ दशमलव ७५, गोर्खाजमा ९ दशमलव ८९, सेन्ट्रलमा सात दशमलव ५३ र बेस्ट फाइनान्समा पाँच दशमलव ४९ प्रतिशत कर्जा खराब रहेको छ ।

गत आवको सोही अवधिमा यी फाइनान्समा क्रमशः १० दशमलव शून्य दुई, चार दशमलव २२, ४१ दशमलव ११, सात दशमलव ४२, दुई दशमलव ५६ र चार दशमलव ४० प्रतिशत कर्जा खराब रहेको थियो ।
चालू आवको पहिलो त्रैमासमा रिलायन्स, गुह्ेश्वरी मर्चेन्ट एन्ड बैंकिङ, समृद्धि, पोखरा र गुडविल फाइनान्समा क्रमशः चार दशमलव ९६, चार दशमलव ८२, चार दशमलव ७९, चार दशमलव १३ र तीन दशमलव ९७ प्रतिशत कर्जा खराब रहेको छ ।

गत आवको सोही अवधिमा यी फाइनान्समा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ६७, दुई दशमलव ८१, ६ दशमलव शून्य एक, दुई दशमलव ६५ र दुई दशमलव १५ प्रतिशत कर्जा खराब रहेको थियो ।

यसैगरी आईसीएफसी, मञ्जुश्री र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीमा पनि चालू आवको पहिलो त्रैमासमा क्रमशः तीन दशमलव २३, दुई दशमलव ८५ र एक दशमलव २० प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्स कम्पनीमा यस्तो कर्जा अनुपात एक दशमलव ३१, दुई दशमलव ४४ र एक दशमलव ४२ प्रतिशत रहेको थियो ।