बैंकरहरुलाई गभर्नर अधिकारीको निर्देशन : अप्ठ्यारोमा परेका उद्योग व्यवसायीलाई सहजीकरण गर्नुहोस्

बैंकरहरुलाई गभर्नर अधिकारीको निर्देशन : अप्ठ्यारोमा परेका उद्योग व्यवसायीलाई सहजीकरण गर्नुहोस्



बैंकिङ्ग समाचार, काठमाडौं ।
गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अप्ठ्यारोमा परेका उद्यम व्यवसायको प्रवर्द्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् ।

बुधबार साँझ ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थासम्बद्ध बैंकर्स संघका अध्यक्ष, प्रतिनिधिहरूलाई केन्द्रीय बैंकमा डाकेर गभर्नर अधिकारीले यस्तो आग्रह गरेका हुन् ।

उनले असल मनशायले व्यवसाय सञ्चालन गर्दागर्दै पनि अर्थतन्त्रको प्रतिकूल अवस्था र परिस्थितिजन्य कारणले कसैलाई अप्ठ्यारो परेमा त्यस्ता व्यवसायीलाई सहजीकरण गरिदिन निर्देन दिएका हुन् । उनले भने, ‘व्यवसाय सहज रूपमा सञ्चालन हुने आवश्यक वातावरण बनाऔं । त्यसको निम्ति आवश्यक नीतिगत समन्वय र अभिभावकत्व ग्रहण गर्न राष्ट्र बैंक सधैं तयार छ ।’

सो अवसरमा गभर्नर अधिकारीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा २०८० मङ्सिर ४ र ५ गते आयोजित मुलुकको अर्थतन्त्रको वर्तमान स्थिति र आगामी कार्यदिशासम्बन्धी अन्तरक्रियामा उठेका विषयवस्तुका बारेमा समेत छलफलमा जानकारी गराएका छन् ।

कार्यक्रममा डेपुटी गभर्नरद्वय डा।नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू देवकुमार ढकाल, डा।गुणाकर भट्ट, रेवतीप्रसाद नेपाल र विश्रुत थापाले वित्तीय क्षेत्रका समसामयिक विषयबारे धारणा राखेका थिए । अन्तरक्रियामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष नरेशसिंह बोहरा, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्त र नेपाल लघुवित्त बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामबहादुर यादव र अन्य प्रतिनिधिको उपस्थिति रहेको थियो ।

उपस्थित प्रतिनिधिहरुले पछिल्लो समय कर्जाको सावाँ ब्याज असुली तथा खराब कर्जाको व्यवस्थापन चुनौतीपूर्ण रहेको र बैंकिङ क्षेत्रमा कार्यरत जनशक्ति विदेशिने क्रम बढेको उल्लेख गर्दै त्यसको समाधानको निम्ति आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएका छन् । साथै, कर्जा नोक्सानीसम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्नुपर्ने आवश्यकतामा उनीहरूले जोड दिएका छन् ।