दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास पुस मसान्तसम्ममा ३१ अर्ब रुपैयाँ विभिन्न माध्यमबाट आन्तरिक ऋण उठाउने भएको छ । पहिलो त्रैमासमा ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले दोस्रो त्रैमासमा भने जम्माजम्मी ३१ अर्ब रुपैयाँ मात्रै आन्तरिक ऋण उठाउन लागेको हो । सरकारले दोस्रो त्रैमासमा २१ अर्बको विकास ऋणपत्र र १० अर्बको ट्रेजरी बिल गरी कुल ३१ अर्ब उठाउने तयारी गरेको छ ।

सरकारले मंसिर १९ गते, पुस ५ र २२ गते समान ७(७ अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । यस्तै, मंसिर ३ गते ३ अर्बको ट्रेजरी बिल जारी गरिसकेको छ भने मंसिर २५ गते ४ अर्ब र पुस २३ गते ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने तयारी छ ।

पहिलो त्रैमासमा भने राष्ट्र बैंकले ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो। जुन चालु आर्थिक वर्षमा उठाउने लक्ष्य राखिएका आन्तरिक ऋणको ४०.५ प्रतिशत हो।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । जसअनुसार अब तेस्रो त्रैमास ४७ अर्ब ६९ करोड रुपैयाँ र चौथो त्रैमासमा ६४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ।