काठमाडौं – कामना सेवा विकास बैंक लगातार तेस्रो पटक दक्षिण एसियाली लेखापाल महासंघ (साफा) अवार्डबाट सम्मानित भएको छ। बैंकले वित्तीय सेवा क्षेत्रअन्तर्गत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड २०२५’ प्राप्त गरेको हो।
साफाले आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका आधारमा बैंकलाई उक्त अवार्ड प्रदान गरेको जनाएको छ। बैंकले आफ्नो १९औँ वार्षिक साधारणसभामा प्रस्तुत गर्न तयार पारेको वित्तीय प्रतिवेदनमा शेयरधनी तथा सरोकारवालालाई संस्थाको विवरण उत्कृष्ट रूपमा प्रस्तुत गरेको थियो।
बंगलादेशको ढाकामा आयोजित समारोहमा बैंकलाई अवार्ड प्रदान गरिएको हो। बैंकले गत वर्ष पनि साफा अवार्ड प्राप्त गरेको थियो। साफा इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्सको सञ्जाल साझेदार संस्था हो।
यसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानसहित दक्षिण एसियाली क्षेत्रका ११ वटा चार्टर्ड एकाउन्टेन्ट संस्थाहरू आबद्ध छन्। साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनको मूल्यांकन गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ।
यसअघि कामना सेवा विकास बैंकको वित्तीय प्रतिवेदनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट प्रदान गरिने राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४/२०२५ मा समेत वित्तीय सेवा क्षेत्रतर्फ गोल्ड अवार्ड प्राप्त गरेको थियो।




About Us
प्रतिक्रिया