कर्णाली डेभलपमेन्ट बैंकको पुँजी ५०० करोड पुर्‍याउने योजना, राष्ट्र बैंकले पारित गर्यो ‘रिजोलुसन रणनीति, २०८३’

अपचलनमा संलग्नको सेयर १ प्रतिशतमा सीमित, स्वदेशी लगानीसङ्गै विदेशी लगानी भित्र्याउने योजना


काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई पुनर्संरचना तथा पुनर्पुँजीकरण गरी पुनः सञ्चालनयोग्य र सबल बैंकका रूपमा स्थापित गर्ने रणनीति अघि बढाएको छ। राष्ट्र बैंक सञ्चालक समितिले बैंकको ‘रिजोलुसन रणनीति, २०८३’ पारित गर्दै बैंकको लक्षित चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउने योजना स्वीकृत गरेको हो।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार रणनीतिअन्तर्गत बैंकमा अनियमितता तथा अपचलनमा संलग्न संस्थापक सेयरधनी र सञ्चालकहरूको सेयर स्वामित्व एक प्रतिशतमा सीमित गरिने भएको छ।

हाल बैंकको अधिकृत पुँजी ६० करोड रुपैयाँ तथा जारी र चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको छ। अपचलनमा संलग्न व्यक्तिहरूको स्वामित्वमा रहेको २१ लाख ३६ हजार ६१ कित्ता संस्थापक सेयर र १२ हजार ६८५ कित्ता साधारण सेयरलाई एक प्रतिशतमा सीमित गरिनेछ। यसबाट बैंकको कायम हुने चुक्ता पुँजी २९ करोड १ लाख ४ हजार १६० रुपैयाँ रहने राष्ट्र बैंकले जनाएको छ।

यस व्यवस्थाले बैंकमा भएको अनियमितता र अपचलनमा संलग्न व्यक्तिहरूको स्वामित्व तथा निर्णय प्रक्रियामा रहने प्रभाव घटाउने अपेक्षा गरिएको छ।

त्यस्तै, बैंकको पुँजी आधार विस्तार गर्न अधिकृत पुँजी ६० करोड रुपैयाँबाट बढाएर ५ अर्ब रुपैयाँ पुर्‍याउने निर्णय गरिएको छ। यसका लागि अपचलनमा संलग्न नरहेका विद्यमान संस्थापक सेयरधनीलाई थप लगानीको अवसर प्रदान गरिनेछ। उक्त व्यवस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ङ को उपदफा ९१० को खण्ड ९ख० बमोजिम गरिएको हो।

पुनर्पुँजीकरण तथा पुनर्संरचनापछि कायम हुने पुँजीमध्ये ६० प्रतिशत संस्थापक सेयर कायम गर्ने लक्ष्य राखिएको छ। यसअनुसार करिब २ अर्ब ६४ करोड ६३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर नयाँ स्वदेशी लगानीकर्तामार्फत परिचालन गरिनेछ। स्वदेशी लगानीकर्ताबाट आवश्यक पुँजी जुट्न नसके विदेशी लगानीकर्तालाई समेत लगानीका लागि आह्वान गरिने राष्ट्र बैंकको रणनीति छ।

राष्ट्र बैंकले निक्षेपकर्तालाई समेत बैंकको पुँजीमा सहभागी हुने अवसर दिने व्यवस्था गरेको छ। ५ लाख रुपैयाँभन्दा बढी निक्षेप भएका व्यक्तिगत निक्षेपकर्ताले आफ्नो निक्षेपको अधिकतम ५० प्रतिशतसम्म रकम बराबरको संस्थापक सेयरमा स्वेच्छिक लगानी गर्न सक्नेछन्। यस प्रयोजनका लागि ८५ लाख कित्ता सेयर छुट्याइएको छ।

निक्षेपकर्ताले यसरी प्राप्त गरेको संस्थापक सेयरलाई प्रचलित कानुनबमोजिम सर्वसाधारण सेयर समूहमा परिणत गर्न सक्ने व्यवस्था पनि रणनीतिमा समेटिएको छ। त्यसपछि पनि ५ अर्ब रुपैयाँको लक्षित चुक्ता पुँजी पूरा हुन बाँकी रहेमा सर्वसाधारण समूहको सेयर जारी गरी आवश्यक रकम जुटाइनेछ।

राष्ट्र बैंकको यो रणनीतिले अपचलनमा संलग्न व्यक्तिहरूको स्वामित्व र प्रभाव कटौती गर्दै नयाँ लगानीकर्ता भित्र्याउने, निक्षेपकर्तालाई पुँजीमा सहभागी गराउने र बैंकको वित्तीय अवस्था सुदृढ बनाउने लक्ष्य लिएको छ।

प्रवक्ता पौडेलका अनुसार रणनीतिको मुख्य उद्देश्य सर्वसाधारणको निक्षेप तथा हित संरक्षण गर्नुका साथै कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः जीवन्त, सबल र सुशासित संस्थाका रूपमा स्थापित गरी सर्वसाधारणको विश्वास पुनः कायम गर्नु हो।