सेबोन अध्यक्षले बुझे क्यापिटल मार्केट डिस्कोर्शको प्रतिवेदन


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले पहिलो संस्करणको ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ को प्रतिवेदन बुझेका छन्। अध्यक्ष भट्टले गत भदौ २१ गते सम्पन्न क्यापिटल मार्केट डिस्कोर्शको प्रतिवेदन बुझेका हुन्। 

बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुङ्गेलले अध्यक्ष डा. भट्टलाई डिस्कोर्शको प्रतिवेदन हस्तान्तरण गरेका हुन्। सेबोनसँगको सहकार्यमा नेपालको पुँजी बजारको विकास, विस्तार र सुधारका विषयमा छलफल गर्दै यही वर्ष २०८३ भदौ २१ गते काठमाडौंमा ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श–२०२६’ सम्पन्न भएको थियो।

त्यसपछि बैंकिङ्ग समाचारले सो कार्यक्रममा उठेका महत्त्वपूर्ण विषयलाई समेटेर प्रतिवेदन तयार गरेर सेबोन समक्ष बुझाएको हो। प्रतिवेदन सेबोन अध्यक्षलाई हस्तान्तरण गरिएको हो। सो अवसरमा डा. भट्टले कार्यक्रममा उठेका ३० प्रतिशत विषय कार्यान्वयनतर्फ लगिएको भएको बताउँदै आगामी ६ महिनामा सबैजसो विषय शत प्रतिशत पूरा गर्ने प्रतिबद्धता जनाए।

‘कार्यक्रममा नेपालको शेयर बजारलाई चाहिने विषय अधिकांश उठेका थिए। ती विषय सेबोनले सुझावका रुपमा ग्रहण गरेको छ। जसलाई आगामी दिनमा आवश्यक्ताअनुसार समेट्दै लगिनेछ,’ अध्यक्ष भट्टले भने, ‘क्यापिटल मार्केट डिस्कोर्श २०२६ जस्तो महत्त्वपूर्ण कार्यक्रमले देशको पूँजी बजारलाई सुधार गर्नका लागि सहयोग गरेको छ। यस्ता खालका कार्यक्रम आगामी दिनमा पनि हुनुपर्छ।’

कार्यक्रममा उद्घाटन सत्रसहित ४ सत्रमा विशेष छलफल भएको थियो। जसमा ‘प्रडक्ट, पोलिसि एन्ड रेगुलेसन’, ‘इन्फर्मड इन्भेस्टर्स, स्ट्रङ्गर क्यापिटल मार्केट’ र ‘टेक्नोलोजी एन्ड इनोभेसन’ नामक सत्र र सेबोन अध्यक्षसँग ‘विशेष डुओलग’ समेत भएको थियो भने सेबीका कार्यकारी निर्देशक डा. राममोहन रावसँग वान अन वान भएको थियो। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित छलफल भएका थिए। 

डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बजार पुँजीकरणमा आएको गिरावट, प्रभावकारी सर्भिलेन्स, जोखिम व्यवस्थापन र हेजिङका उपकरण आवश्यक रहेको विषय उठाइएको थियो।

प्रतिवेदनमार्फत २३ वर्ष पुरानो धितोपत्र सम्बन्धी ऐनलाई आधुनिक बजार र नयाँ प्रविधि अनुकूल हुने गरी संशोधन गर्दै धितोपत्र बोर्डलाई नेपाल राष्ट्र बैंक सरह पूर्ण स्वायत्त, अधिकार सम्पन्न र बलियो नियामक निकायको रूपमा पुनर्संरचना गर्नुपर्ने सुझाव दिइएको छ । यस्तै, दीर्घकालीन र स्थिर नीतिगत व्यवस्था, सञ्चालक समिति र संरचनामा सुधार, हेजिङ तथा इनोभेटिभ वित्तीय उपकरणका साथै एआईमा आधारित बजार लगायत सुझाव दिइएको छ ।