सुनापतिमा मङ्सिर २५ देखि तीनदिने पर्यटन प्रवर्द्धन तथा लगानी विशेष महोत्सव हुने


रामेछाप – रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा लगानी भित्र्याउने उद्देश्यले आगामी मङ्सिर २५, २६ र २७ गते तीनदिने ‘सुनापति गाउँपालिका पर्यटन प्रवर्द्धन तथा लगानी वर्ष (भ्रमण वर्ष) विशेष महोत्सव’ आयोजना हुने भएको छ। सुनापति गाउँपालिकाको आयोजना हुन लागेको महोत्सवले गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार, स्थानीय कृषि तथा घरेलु उत्पादनको बजारीकरण, पर्यटन व्यवसायको विकास र निजी क्षेत्रको लगानी आकर्षित गर्ने लक्ष्य लिएको छ।

महोत्सवसँगै गाउँपालिकाले सुनापतिको समग्र आर्थिक, सामाजिक तथा पर्यटकीय रूपान्तरणका लागि लगानी सम्मेलनसमेत आयोजना गर्दै पर्यटन, कृषि, उद्योग तथा उद्यमशीलताका क्षेत्रमा लगानीका सम्भावना प्रस्तुत गर्ने तयारी गरेको छ। रामेछाप जिल्लाको सुन्दर पहाडी भूगोलमा अवस्थित सुनापति प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधता र मौलिक संस्कृतिका दृष्टिले महत्वपूर्ण पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। यहाँका रमणीय डाँडाकाँडा, हिमाली दृश्यावलोकन, बौद्ध तथा हिन्दू धार्मिक स्थल, तामाङ संस्कृति र स्थानीय जीवनशैली पर्यटन विकासका प्रमुख आधार हुन्।

विशेषगरी नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत सुनापति डाँडा, १०८ लहरे माने, महादेवको विशाल मूर्ति, सेतो मच्छिन्द्रनाथको मूर्ति, लामाटोलस्थित पद्मसम्भव मूर्ति तथा गुम्बा, फलाम पोखरी, धर्मद्वार, पानीघाट युद्ध पार्क, डम्फुडाँडा, चिया बगान तथा लखपति छ्योर्तेन डाँडालगायतका पर्यटकीय स्थललाई व्यवस्थित पर्यटन सर्किटका रूपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य छ।

महोत्सवका अवसरमा यी पर्यटकीय गन्तव्यको प्रचारप्रसारसँगै पूर्वाधार विकास, संरक्षण, सौन्दर्यकरण र व्यावसायिक व्यवस्थापनका लागि आवश्यक लगानीका अवसरसमेत प्रस्तुत गरिनेछ। त्यसैगरी, सुनापतिमा उत्पादन हुने आलु, फलफूल, तरकारी तथा अन्य कृषि उपजको बजारीकरण, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङलाई प्राथमिकता दिइनेछ। स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्दै कृषक, महिला उद्यमी, युवा तथा घरेलु व्यवसायीको आयआर्जन वृद्धि गर्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले पर्यटन क्षेत्रमा होमस्टे, होटल, रिसोर्ट, क्याफे, पदमार्ग, साहसिक पर्यटन तथा स्थानीय खानाका परिकारमा निजी क्षेत्रको लगानी भित्र्याउने लक्ष्य राखेको छ। कृषि प्रशोधन, दुग्धजन्य उत्पादन, फलफूल प्रशोधन, जडीबुटी तथा हस्तकलामा आधारित उद्योग स्थापनाका सम्भावनासमेत लगानीकर्तासमक्ष प्रस्तुत गरिनेछ।

यसै सन्दर्भमा सुनापति डाँडालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको छ। पदमार्ग तथा सिँढी सुधार, पार्किङ, खानेपानी, शौचालय, दृश्यावलोकन स्थल, क्याफे, स्थानीय उत्पादन बिक्री केन्द्र तथा डिजिटल सूचना प्रणालीलगायतका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ।

उक्त परियोजनालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअनुसार अगाडि बढाउने सोच गाउँपालिकाले अघि सारेको छ। यसबाट प्रत्यक्ष रूपमा १५ देखि २० जना र अप्रत्यक्ष रूपमा २५ देखि ४० जनासम्म रोजगारी सिर्जना गर्ने प्रारम्भिक लक्ष्य राखिएको छ। गाउँपालिकाले लगानीकर्ताका लागि आवश्यक नीतिगत सहजीकरण, समन्वय, पारदर्शी प्रक्रिया र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। लगानीबाट निजी क्षेत्रले उचित प्रतिफल प्राप्त गर्नुका साथै स्थानीय समुदायले पनि रोजगारी र आर्थिक गतिविधिमार्फत प्रत्यक्ष लाभ लिन सक्ने वातावरण निर्माण गरिने जनाइएको छ।

तीनदिने महोत्सवले सुनापतिको पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा परिचित गराउनुका साथै स्थानीय उत्पादनको बजार विस्तार, पर्यटन व्यवसायको प्रवर्द्धन र नयाँ लगानीका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।गाउँपालिकाले सुनापतिको प्राकृतिक सौन्दर्यलाई आर्थिक समृद्धिसँग, धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग, स्थानीय उत्पादनलाई बजारसँग र युवाको सीप तथा श्रमलाई रोजगारीसँग जोड्दै समृद्ध, उद्यमशील र आत्मनिर्भर सुनापति निर्माण गर्ने लक्ष्य लिएको छ।