सुनापतिको समृद्धिका लागि निजी क्षेत्रको लगानी आवश्यक : अध्यक्ष तामाङ


रामेछाप – सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले गाउँपालिकाको समग्र आर्थिक, सामाजिक तथा पर्यटकीय रूपान्तरणका लागि निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन्। सुनापति गाउँपालिकाको आयोजनामा सञ्चालन भइरहेको सुनापति लगानी सम्मेलन–२०८३ लाई सम्बोधन गर्दै अध्यक्ष तामाङले सुनापतिमा प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा कृषि क्षेत्रका प्रशस्त सम्भावना रहे पनि पर्याप्त लगानी, पूर्वाधार विकास र व्यावसायिक व्यवस्थापनको अभावमा ती सम्भावनालाई अपेक्षित आर्थिक उपलब्धिमा रूपान्तरण गर्न नसकिएको बताएका छन्।

उनले सुनापति प्राकृतिक सौन्दर्य, जैविक विविधता, मौलिक संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण सम्भावनायुक्त गाउँपालिका रहेको उल्लेख गर्दै उपलब्ध स्रोतसाधनलाई लगानी र बजारसँग जोड्नुपर्ने बताएका छन्।अध्यक्ष तामाङले यस वर्षलाई ‘सुनापति भ्रमण वर्ष–२०८३’ का रूपमा अघि बढाइएको जानकारी दिँदै गाउँपालिकाभित्रका १९ वटा महत्वपूर्ण पर्यटकीय गन्तव्य पहिचान गरी व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताएका छन्।

सुनापति डाँडा, १०८ लहरेमाने, महादेवको विशाल मूर्ति, सेतो मच्छिन्द्रनाथको मूर्ति, लामाटोलस्थित पद्मसम्भव मूर्ति तथा गुम्बा, फलाम पोखरी, धर्मद्वार, पानीघाट युद्ध पार्क, डम्फुडाँडा, चिया बगान तथा लखपति छ्योर्तेन डाँडालगायतका स्थललाई व्यवस्थित पर्यटन सर्किटका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताएका छन्।

उनले पर्यटन विकास भनेको पर्यटक भित्र्याउनु मात्र नभई पर्यटकको बसाइ अवधि बढाउने, स्थानीय उत्पादनको बिक्री वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र स्थानीय नागरिकको आम्दानी बढाउने विषयसँग समेत जोडिएको बताएका छन्।

अध्यक्ष तामाङले सुनापति डाँडालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअनुसार परियोजना अघि बढाउने योजना प्रस्तुत गरेका छन्। उक्त परियोजनाअन्तर्गत पदमार्ग तथा सिँढी सुधार, पार्किङ, खानेपानी, शौचालय, दृश्यावलोकन स्थल, क्याफे, स्थानीय उत्पादन बिक्री केन्द्र, डिजिटल सूचना प्रणाली तथा सम्पदा संरक्षणका कामलाई प्राथमिकता दिइने बताएका छन्।

उक्त परियोजनाबाट प्रत्यक्ष रूपमा १५ देखि २० जना र अप्रत्यक्ष रूपमा २५ देखि ४० जनासम्म रोजगारी सिर्जना गर्ने प्रारम्भिक लक्ष्य राखिएको उनले जानकारी दिएका छन्। त्यसैगरी, सुनापतिको आर्थिक समृद्धिका लागि कृषि, पर्यटन, उद्योग र उद्यमशीलताको विकासलाई प्राथमिकतामा राखिएको अध्यक्ष तामाङले बताएका छन्। स्थानीय स्तरमा उत्पादन हुने आलु, फलफूल, तरकारी तथा अन्य कृषि उपजलाई प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र बजार व्यवस्थापनसँग जोड्न सके किसानको आम्दानी वृद्धि हुनुका साथै रोजगारीका अवसरसमेत सिर्जना हुने उनले बताएका छन्।

कृषि प्रशोधन उद्योग, दुग्धजन्य उत्पादन, फलफूल प्रशोधन, जडीबुटी, हस्तकला तथा स्थानीय स्रोत र सीपमा आधारित साना तथा मझौला उद्योगमा लगानीका प्रशस्त सम्भावना रहेको उनले उल्लेख गरेका छन्। निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई सुनापतिको विकास यात्रामा साझेदार बन्न आग्रह गर्दै अध्यक्ष तामाङले लगानीकर्ताले उचित प्रतिफल प्राप्त गर्ने र स्थानीय समुदायले समेत लगानीबाट प्रत्यक्ष आर्थिक लाभ पाउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

स्थानीय उत्पादन, स्थानीय श्रम, स्थानीय सीप र स्थानीय उद्यमलाई प्राथमिकता दिने गरी लगानीको वातावरण निर्माण गर्न गाउँपालिका प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन्। पर्यटन विकासका क्रममा प्राकृतिक वातावरण, धार्मिक आस्था, सांस्कृतिक पहिचान र मौलिक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले वातावरणमैत्री निर्माण, फोहोर व्यवस्थापन, जलस्रोत संरक्षण, वृक्षरोपण, विपद् जोखिम न्यूनीकरण र नियमित मर्मतसम्भारलाई दिगो पर्यटन विकासका आधारका रूपमा लिनुपर्ने बताएका छन्।

अध्यक्ष तामाङले गाउँपालिकाले लगानीमैत्री वातावरण निर्माण, आवश्यक नीतिगत सहजीकरण, पारदर्शी प्रक्रिया, सम्भावित परियोजनाको अध्ययन तथा सार्वजनिक–निजी साझेदारीको संरचना निर्माणमा आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सुनापतिको विकासका लागि तीनै तहका सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, विकास साझेदार, स्थानीय समुदाय तथा प्रवासी नेपालीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले लगानीकर्तालाई सुनापतिको विकास यात्रामा सहभागी हुन आह्वान गरेका छन्।

सुनापतिको प्राकृतिक सौन्दर्यलाई आर्थिक समृद्धिसँग, धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग, स्थानीय उत्पादनलाई बजारसँग र युवाको श्रम तथा सीपलाई रोजगारीसँग जोडेर गाउँपालिकालाई लगानी, पर्यटन, उत्पादन र रोजगारीको सम्भावनायुक्त गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष तामाङले बताएका छन्।