काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ। सीआईबीका अनुसार अर्याललाई मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो।
नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र विपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन्।
सीआईबीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार ठगी गरी संकलन गरिएको रकममध्ये ८ करोड ३० लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ।
यस प्रकरणमा उनलाई पक्राउ गरी अनुसन्धान गर्न मंसिर २ गते काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइएको सीआईबीले जनाएको छ। अर्यालले गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष भूमिका निर्वाह गर्नुका साथै आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत संलग्न रहेको आरोप छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




About Us
प्रतिक्रिया