काठमाडौं – लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्दो कारण खुलाएर सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन भनेको हो।
कार्यालयका अनुसार कार्यक्षेत्रबाट बिना जानकारी सम्पर्कविहीन भएका ती कर्मचारीहरूको खोजतलास गर्दा फेला नपरेपछि प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को उपनियम (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गरिएको थियो। उक्त प्रक्रिया पूरा गर्दा समेत सम्बन्धित कर्मचारीहरू कार्यालयको सम्पर्कमा नआएपछि सफाइको मौका प्रदान गर्न सार्वजनिक सूचना जारी गरिएको हो।
तोकिएको म्यादभित्र गैरहाजिर रहनुको सन्तोषजनक कारणसहित उपस्थित नभए प्रहरी नियमावलीको नियम ११३ को उपनियम (१) को खण्ड (च) अन्तर्गतको कसुरमा नियम १०९ को देहाय (ख) को उपखण्ड (१) बमोजिम सेवाबाट हटाउने कारबाही गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सूचनाअनुसार गैरहाजिर रहनेमा प्राविधिक प्रहरी नायव निरीक्षक प्रविन तामाङ, प्रहरी सहायक निरीक्षक सबिन बाम्प्ला मगर, प्रहरी हवल्दार गेनालालन महतो, प्राविधिक प्रहरी सहायक हवल्दार इश्वर चन्द्र कार्की र प्रहरी सहायक हवल्दार दिपेन्द्र बहादुर मल्ल रहेका छन्। त्यस्तै, प्रहरी जवानहरू खुम बहादुर बस्नेत, सिर्जना बाकावल, रघुनाथ केसी, टुपेन्द्र बहादुर सुनुवार, लुम कुमारी श्रेष्ठ, नवीन सुनार र प्राविधिक प्रहरी जवान हरी कुमार रसाली पनि लामो समयदेखि गैरहाजिर रहेको सूचनामा उल्लेख छ।
यसैगरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका प्रहरी कार्यालय सहयोगी सागर तामाङ र इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँमा खेलाडीका रूपमा कार्यरत प्रहरी कार्यालय सहयोगी जुनु स्याङ्बो लामा समेत गैरहाजिर रहेको जनाइएको छ।




About Us
प्रतिक्रिया