काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत थप ८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीले सोही क्रममा ११ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मंसिर १० गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६, लेकसाइड क्षेत्रमा विशेष निगरानी तथा चेकजाँच गरेको थियो। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ६ जना पुरुष र २ जना महिला गरी ८ जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।
यसैगरी, सवारीसाधन चेकजाँचका क्रममा ११ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। तीमध्ये ७ वटा सवारीसाधनका चालकलाई मादक पदार्थ सेवन (मापसे) सम्बन्धी कारबाही गरिएको छ भने ४ वटा सवारीसाधन वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ‘अपरेसन सभ्यता’ सञ्चालन भएयता हालसम्म १९१ जना पुरुष र १० जना महिला गरी कुल २०१ जना व्यक्तिमाथि कारबाही गरिएको छ। त्यस्तै, ५०८ वटा सवारीसाधनमाथि समेत कारबाही गरिएको छ।




About Us
प्रतिक्रिया