उदयपुर प्रहरी प्रमुखमा एसपी धर्मराज भण्डारी


काठमाडौं – उदयपुर जिल्ला प्रहरी कार्यालयको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारी सरुवा भएका छन्।नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्ने क्रममा भण्डारीलाई उदयपुर पठाएको हो। उनी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय, सूचना विश्लेषण शाखा नक्सालमा कार्यरत थिए।

भण्डारीले अब उदयपुर जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। यसैगरी, दिलीपकुमार गिरी साइबर ब्युरोबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका छन्। गिरीको स्थानमा जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत अंगुर जिसी साइबर ब्युरोमा सरुवा भएका छन्।

त्यस्तै, कवित कटुवाल जिल्ला प्रहरी कार्यालय मोरङबाट सरुवा भई प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल पुगेका छन्। दानबहादुर थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को बैंकिङ्ग कसुर अनुसन्धान शाखा, लाजिम्पाटबाट जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा भएका छन्।