काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा, डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउने सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले रिजाललाई नियन्त्रणमा लिएको थियो।
सेवाग्राहीको उजुरी तथा प्राप्त सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको थियो। आयोगका अनुसार अनुसन्धानका क्रममा रिजालले आफ्नो पद तथा ओहदाको दुरुपयोग गर्दै सेवाग्राहीको सामान विदेश पठाउने क्रममा विभिन्न बहाना बनाई बार्गेनिङ गरेर घुस मागेको पुष्टि भएको छ।
अनुसन्धानबाट उनले घुसबापत २० हजार रुपैयाँ लिएको देखिएको अख्तियारले जनाएको छ। उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहर गर्दै आयोगले २० हजार रुपैयाँ बिगो कायम गरेको छ। आयोगले उनलाई ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा बिगो बराबर जरिवाना सजायको मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।




About Us
प्रतिक्रिया