काठमाडौं – वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर २ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–९ स्थायी ठेगाना भएका ३३ वर्षीय कृष्ण हरि दाहाल रहेका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा २०८३ मंसिर ७ गते पक्राउ गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार दाहालले विभिन्न व्यक्तिलाई जापानमा आकर्षक तलबसहित रोजगारी दिलाइदिने आश्वासन दिएर लामो समयसम्म झुक्यानमा राखेका थिए।
अनुसन्धानका क्रममा दाहालले पीडितहरूलाई शिर बहादुर गजुरेलको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको खुलेको छ। पीडितहरूले उक्त खातामा रकम जम्मा गर्न आनाकानी गरेमा आफू नै शिर बहादुर गजुरेल भएको भन्दै रकम फिर्ता गर्ने लिखित कागजसमेत गरिदिने गरेको प्रहरीको भनाइ छ।
हालसम्म यस प्रकरणमा १७ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्। उनीहरूबाट कुल २ करोड ४५ लाख रुपैयाँ ठगी भएको विवरण खुलेको छ।दाहाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया