असोजसम्म ६.३७ प्रतिशत उपभोक्ता मुद्रास्फीति


काठमाडौं – चालु आर्थिक वर्षको असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहेको पुगेको छ। नेपाल राष्ट्र बैंककाे तथ्याङ्कअनुसार अघिल्लो वर्षको असोजमा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत मात्रै रहेको थियो। आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति १.६७ प्रतिशतमा सीमित थियो। चालु वर्षको भदौ महिनामा मुद्रास्फीति ६.३४ प्रतिशत थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको ५.४६ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य समूह २.५४ प्रतिशतले ऋणात्मक र गैर–खाद्य समूह ३.८० प्रतिशत थियो। खाद्य समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको मूल्य १६.४४ प्रतिशत र फलफूलको १५.४६ प्रतिशतले बढेको छ। चिनी तथा चिनीजन्य पदार्थ ११.८४ प्रतिशत, माछा तथा मासु ८.९१ प्रतिशत, मरमसला ७.७१ प्रतिशत र तरकारी ७.२८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात १२.९७ प्रतिशत र मदिराजन्य पेय पदार्थ ८.८३ प्रतिशतले बढेको छ। कपडा तथा जुत्ता चप्पल ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरण ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थ ५.४५ प्रतिशतले महँगिएको छ। असोजमा ग्रामीण क्षेत्रको मूल्यवृद्धि ६.६३ प्रतिशत र सहरी क्षेत्रको ६.२८ प्रतिशत रहेको छ। भौगोलिक आधारमा तराईमा ६.८८ प्रतिशत, पहाडमा ६.१४ प्रतिशत, काठमाडौं उपत्यकामा ५.९२ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी मधेस प्रदेशमा ७.३७ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१३ प्रतिशत मूल्यवृद्धि रहेको छ। यस्तै, असोजमा थोक मुद्रास्फीति ७.२९ प्रतिशत र छिमेकी भारतमा अक्टोबर महिनाको उपभोक्ता मुद्रास्फीति ६.०९ प्रतिशत रहेको छ।