काठमाडौं – बराह बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुख्य योजनाकार मानिएका शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।
गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बराह सहकारीको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको बताएका छन्।
गृहमन्त्री गुरुङका अनुसार करिब ६ वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालनका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताहरूले सहकारीका कारण भोग्नुपरेको पीडा आफूले सुनेका थिए। उक्त पीडाले आफूलाई निरन्तर झकझक्याइरहेको उनले उल्लेख गरेका छन्।
अभियन्ताका रूपमा रहँदा तथा जेनजी आन्दोलनपछिका प्रयासहरूमा तत्कालै केही गर्न नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि पूर्वका नागरिकलाई न्याय दिलाउन खोजी कार्य तीव्र पारिएको उनको भनाइ छ। मुख्य योजनाकार पक्राउ परेसँगै अब सहकारी ठगी प्रकरणमा संलग्न अन्य दोषीहरूको समेत खोजी गरी कानुनी कारबाहीको प्रक्रिया तीव्र बनाइने गृहमन्त्री गुरुङले बताएका छन्।





About Us
प्रतिक्रिया