काठमाडौं – कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गर्दै आएको ‘अपरेसन सभ्यता’ अभियानअन्तर्गत थप चार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले चेकजाँचका क्रममा १२ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिई कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको वडा प्रहरी कार्यालय बैदामबाट संयुक्त रूपमा सञ्चालन भइरहेको अभियानअन्तर्गत झैझगडा गर्ने, पर्यटकलाई अनावश्यक दुःख तथा हैरानी दिने, दुर्व्यवहार गर्ने र अनैतिक तथा अवाञ्छित गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई निगरानी गरी कारबाही गरिँदै आएको छ।
प्रहरीका अनुसार २०८३ कात्तिक ३० गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६, लेकसाइड क्षेत्रमा गरिएको कारबाहीका क्रममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने दुई पुरुष र दुई महिलासहित चार जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि वडा प्रहरी कार्यालय बैदामबाट आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ।
यसैगरी, सवारीसाधन चेकजाँचका क्रममा १२ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। तीमध्ये नौ वटा सवारीसाधनका चालकलाई मादक पदार्थ सेवन (मापसे) कारबाही गरिएको, एउटा सवारीसाधनलाई अन्य ट्राफिक नियम उल्लङ्घनमा जरिवाना गरिएको र दुई वटा सवारीसाधनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ‘अपरेसन सभ्यता’ अन्तर्गत हालसम्म १४४ जना पुरुष र आठ जना महिलासहित कुल १५२ जना व्यक्ति तथा ३५६ वटा सवारीसाधनमाथि कारबाही भइसकेको छ।







About Us
प्रतिक्रिया