काठमाडौं – प्रहरीले देशभरबाट जुवातास खेलिरहेको अवस्थामा ५० जनालाई पक्राउ गरेको छ। धनकुटा, कैलाली, ओखलढुंगा, ललितपुर रूपन्देहीबाट ५० जना जुवाडे पक्राउ गरेको हो। धनकुटाको धनकुटा नगरपालिका–५ देवनटार बस्ने ३७ वर्षीया मेन कुमारी लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा मेन कुमारी समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ५ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो।
कैलालीको गोदावरी नगरपालिका– ५ गेटा बरचोक बस्ने २८ वर्षीय रमेश रानाले संचालन गरेको रमेश होटलमा जुवातास खेलिरहेको अवस्थामा रमेश समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्विम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ६ सय १० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १२ बस्ने ३२ वर्षीया संगिता कार्कीको सुमन किराना पसल एण्ड होटलमा जुवातास खेलिरहेको अवस्थामा संगिता समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार २० रूपैयाँसहित पक्राउ गरेको हो।
ललितपुरको ललितपुर महानगरपालिका– १७ लुखुसीस्थित रौतहट घर भएका ४९ वर्षीय ललन प्रसाद कलवारको कवाडी कारखानामा जुवातास खेलिरहेको अवस्थामा ललन प्रसाद समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग मंगल बजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५१ हजार ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
रूपन्देहीको बुटवल उपमहानगरपालिका– ११ बुद्धनगर बस्ने ५८ वर्षीय राम बहादुर केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा राम बहादुर समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५६ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







About Us
प्रतिक्रिया