शेयर बजारमा इन्ट्राडे कारोबार गराइने, नियमावलीको मस्यौदा सार्वजनिक


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लामो समयदेखि प्रतीक्षामा रहेको अन्तरदिवसीय (इन्ट्राडे) कारोबारलाई कानुनी दायरामा ल्याउन नियमावलीको प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ। बोर्डले कात्तिक १९ गते ‘अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक मस्यौदा तयार गरी सार्वजनिक गरेको हो। उक्त मस्यौदामा राय सुझाव दिन बोर्डले आग्रह गरेको छ। यो व्यवस्था धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ को अधिकार प्रयोग गर्दै नेपाल सरकारको स्वीकृतिमा कार्यान्वयनमा ल्याउन बोर्डले जनाएको छ। सेबोनका अनुसार इन्ट्राडे कारोबार सञ्चालनको लागि स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीले बोर्डबाट स्वीकृति लिनुपर्ने छ। बोर्डको मापदण्ड पूरा गरेका सूचीकृत धितोपत्र मात्र अन्तरदिवसीय कारोबारका लागि योग्य हुनेछन्।

ब्रोकर कम्पनीले ग्राहकको पहिचान, वित्तीय क्षमता, जोखिम वहन क्षमता तथा उपयुक्तता मूल्याङ्कन गरेर मात्र अन्तरदिवसीय कारोबारको सुविधा उपलब्ध गराउनुपर्नेछ। ब्रोकर कम्पनीले अन्तरदिवसीय कारोबार सञ्चालन गर्नु अघि ग्राहकको आदेश, मार्जिन, जोखिम सीमा तथा अन्य आवश्यक शर्तहरूको परीक्षण गर्नुपर्नेछ। धितोपत्र दलाल र धितोपत्र दलाल व्यवसायीले अन्तरदिवसीय कारोबार सञ्चालनका लागि आवश्यक प्रणाली, सुरक्षा व्यवस्था तथा वास्तविक समय जोखिम नियन्त्रण प्रणाली कायम गर्नुपर्ने, लगानीकर्ताले अन्तरदिवसीय कारोबार अन्तर्गत धितोपत्र खरिद बिक्री गरी कायम भएको खुला अवस्था सोही दिन धितोपत्र बिक्री खरिद गरी खुला अवस्था बन्द गर्नुपर्नेछ। तोकिएको समयभित्र खुला अबस्था बन्द नभएमा स्वतः बन्द हुने व्यवस्था मस्यौदामा उल्लेख गरेको छ।

इन्ट्राडे कारोबार गर्ने प्रत्येक ग्राहकले तोकिए अनुसारको आवश्यक मार्जिन कायम राख्नुपर्ने, कारोबारको उतारचढाव अनुसार मार्जिन कायम राख्नुपर्ने, प्रत्येक ग्राहक, धितोपत्र व्यवसायी, धितोपत्र तथा सम्पूर्ण बजारका लागि अधिकतम कारोबार सीमा निर्धारण गरिने बोर्डले जनाएको छ। त्यसैगरी, प्रत्येक ब्रोकर कम्पनीले जोखिम व्यवस्थापन प्रणाली, आन्तरिक नियन्त्रण प्रणाली तथा गुनासो व्यवस्थापन संयन्त्रको व्यबस्था गर्नुपर्ने, बोर्ड, धितोपत्र बजार तथा धितोपत्र दलाल व्यवसायीले इन्ट्राडे कारोबार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, र अन्त्यमा बोर्डले अन्तरदिवसीय धितोपत्र कारोबार चरणबद्ध रूपमा लागू गर्न सक्ने मस्यौदामा उल्लेख छ।

Skip This