प्रहरी महानिरीक्षक कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार, मनोज केसी नयाँ आईजीपीमा बढुवा


काठमाडौं – सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकारका रूपमा खटाउने निर्णय गरिएको हो। उनको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई बढुवा गरी नयाँ प्रहरी महानिरीक्षक बनाइएको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षा व्यवस्था थप सुदृढ बनाउन प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा सल्लाह, सुझाव र परामर्श दिन विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरिएको जानकारी दिए। उनका अनुसार नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गरी उक्त जिम्मेवारीमा दानबहादुर कार्कीलाई खटाइएको हो।

त्यसैगरी प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम एआईजी डा. मनोजकुमार केसीलाई २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरिएको प्रवक्ता पोखरेलले बताए। कार्कीको जिम्मेवारी परिवर्तनलाई कारबाहीका रूपमा नबुझ्न सरकारले आग्रह गरेको छ। यसअघि प्रहरीभित्रैबाट सूचना चुहावट भएको विषयमा अनुसन्धानका लागि प्रहरी परिचालन भएको र आवश्यक परे गृह मन्त्रालयले समेत कदम चाल्न सक्ने सरकारको भनाइ थियो। तर, बुधबारको निर्णयबारे स्पष्ट पार्दै प्रवक्ता पोखरेलले कार्कीमाथि कुनै कारबाही नभएको र जिम्मेवारी मात्रै परिवर्तन गरिएको बताए। उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारका रूपमा प्रधानमन्त्री कार्यालयमा ल्याइएको उनको भनाइ छ।

कार्कीलाई हटाउनुको कारणबारे प्रश्न
कार्कीलाई आईजीपीबाट हटाएर सुरक्षा सल्लाहकार बनाउनुको कारणबारे सञ्चारकर्मीले प्रश्न उठाएका थिए। सामाजिक सञ्जाल तथा विभिन्न स्रोतबाट सार्वजनिक भएका सूचना चुहावटसम्बन्धी चर्चाबारे पनि प्रवक्ता पोखरेललाई प्रश्न गरिएको थियो। जवाफमा उनले सामाजिक सञ्जालमा आएका विषयलाई आधिकारिक तथ्यका रूपमा लिन नमिल्ने बताए। त्यस्ता विषयमा अनुसन्धान गर्ने निकाय र कानुनी प्रक्रिया रहेको उल्लेख गर्दै उनले आधिकारिक पुष्टि नभएका हल्लाका आधारमा निष्कर्ष निकाल्न नहुने धारणा राखे।