काठमाडौं – दाङका विभिन्न स्थानमा रहेका सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले कात्तिक १७ गते बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरेको विशेष अपरेसनका क्रममा उक्त बन्दुकहरू बरामद गरेको हो। जिल्लाका विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले जंगल तथा झाडीमा लुकाएर राखिएका बन्दुकहरू फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको टोलीले बबई गाउँपालिका–५ खयरभट्टीस्थित सिमौरा सामुदायिक वनबाट ५ नाल भरुवा बन्दुक बरामद गरेको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका–२ स्थित सुनछहरी सामुदायिक वनबाट १ नाल र प्रहरी चौकी हाँसीपुरको टोलीले बंगलाचुली गाउँपालिका–८ पाँचपोखरीस्थित न्यू कालिका सामुदायिक वनबाट १ नाल बन्दुक बरामद गरेको छ।
यसैगरी, प्रहरी चौकी पुरन्धाराको टोलीले बबई गाउँपालिका–२ सुवाखोरे सामुदायिक वनबाट १ नाल, अस्थायी प्रहरी पोस्ट कालाकाटेको टोलीले गढवा गाउँपालिका–१ रौसिङखोलाको बगर नजिकको झाडीबाट ४ नाल साबुत र १ नाल बेसाबुत गरी ५ नाल तथा अस्थायी प्रहरी पोस्ट गर्तीको टोलीले लमही नगरपालिका–३ स्थित नारायणश्वर सामुदायिक वनबाट १ नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरिएका सबै १४ नाल भरुवा बन्दुक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया