काठमाडौं – कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशभर बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।बैंकले विभिन्न क्षेत्रीय तथा शाखा कार्यालयमार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ।
बैंकका अनुसार कोशी प्रदेशको विराटनगरमा १५ कात्तिक तथा काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय, मधेश प्रदेशको बर्दिबास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, बुटवल क्षेत्रको बुटवल, पश्चिम क्षेत्रको घोराही र महेन्द्रनगरमा १८ कात्तिकमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ।
काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ। यसैबीच, बैंकले २०औँ वार्षिकोत्सवकै अवसरमा छैटौँ अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल प्रतियोगितासमेत आयोजना गर्ने भएको छ।
१४ र १५ कात्तिकमा काठमाडौंको धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा आर्थिक पत्रकारहरूको संगठन सेजन, नाफिज र इमानलगायत ३० वटा बैंक तथा वित्तीय संस्थाका टोली सहभागी हुने बैंकले जनाएको छ।






About Us
प्रतिक्रिया