नेशनल प्याब्सनको विशेष अधिवेशन चितवनमा हुने, विधान संशोधन मुख्य एजेन्डा


काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले विशेष अधिवेशन आयोजना गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी २०८३ साल कार्तिक १४ र १५ गते चितवनमा विशेष अधिवेशन हुन लागेको हो।

नेशनल प्याब्सनद्वारा प्रकाशित सूचनाअनुसार अधिवेशन चितवनको सौराहास्थित युनिक वाइल्ड रिसोर्ट प्रा.लि.मा दिउँसो १ बजे आयोजना हुनेछ।

विशेष अधिवेशनमा संगठनको विधान संशोधनसम्बन्धी विषयमा छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ। सूचनामा उल्लेख भएअनुसार गृह मन्त्रालयको निर्देशन, उच्च अदालत पाटनको आदेश तथा मन्त्रालयबाट पुनः जारी भएको पत्रसमेतका आधारमा केन्द्रीय कार्यसमितिले तयार पारेको विधान संशोधनको पाँचौँ प्रस्तावमाथि छलफल हुनेछ।

नेशनल प्याब्सनले अधिवेशनमा सहभागी भई प्रस्तावित विषयमा छलफल तथा निर्णय प्रक्रियामा योगदान पुर्‍याउन सदस्य विद्यालयहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ। संगठनको विधानको दफा २०.१ बमोजिम विशेष अधिवेशन आह्वान गरिएको सूचनामा उल्लेख छ।