नेपाल प्रहरीको ७१औँ स्थापना दिवस, उत्कृष्ट प्रहरी कर्मचारी सम्मानित


काठमाडौं – नेपाल प्रहरीको ७१औँ स्थापना दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी आङ्गुर जाेसी, राजेन्द्र चौधरी, प्रकाश सिंह महरा र उत्कृष्ट अपराध अनुसन्धानतर्फ निबन्धबहादुर बुढा सम्मानित भएका छन्। कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा पूर्वप्रहरी नायब महानिरीक्षक प्रेमलाल श्रेष्ठलाई समेत सम्मान गरिएको छ।

नेपाल प्रहरीको स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको हो। दिवसका अवसरमा कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै संगठनमा उत्कृष्ट योगदान पुर्‍याउने प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ। नेपाल प्रहरीका अनुसार कर्तव्य पालनाका क्रममा १ हजार ७ सयभन्दा बढी प्रहरी कर्मचारीले वीरगति प्राप्त गरेका छन्। उनीहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै प्रहरी संगठनले राष्ट्र र नागरिकको सुरक्षामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ।

स्थापना दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई विभिन्न विधामा सम्मान गरिएको हो। नेपाल प्रहरीको स्थापना दिवसले संगठनमा कार्यरत प्रहरी कर्मचारीको योगदान, कर्तव्यनिष्ठा र बलिदानको स्मरण गराउनुका साथै शान्ति सुरक्षा कायम गर्न थप जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न प्रेरणा दिएको छ।