विश्व लगानीकर्ता सप्ताहमा आरबीबी मर्चेन्ट बैंकिङ्गको वित्तीय सचेतना कार्यक्रम


काठमाडौं – विश्व लगानीकर्ता सप्ताह–२०२६ को अवसरमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसमा वित्तीय शिक्षा तथा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ। धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी शिक्षा र सचेतना अभिवृद्धि गर्दै लगानीकर्तालाई सशक्त बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले असोज १९ गतेदेखि २५ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरी विश्व लगानीकर्ता सप्ताह–२०२६ मनाइरहेको छ।

सोही अवसरमा आरबीबी मर्चेन्ट बैंकिङ्गले असोज २१ गते थापाथली क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा आरबीबी मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे र सहायक प्रबन्धक सृजना बाँस्कोटाले वित्तीय तथा लगानीसम्बन्धी विभिन्न विषयमा जानकारी दिएका थिए।

कार्यक्रममा लगानीकर्ताको उत्थानशीलता, डिजिटल छलकपट तथा ठगीसम्बन्धी सचेतना लगायतका विषयमा विस्तृत छलफल गरिएको कम्पनीले जनाएको छ। साथै मर्चेन्ट बैंकिङका विभिन्न कार्य तथा सेवाबारे पनि सहभागीलाई जानकारी गराइएको थियो। कार्यक्रमका क्रममा सहभागीबाट उठेका प्रश्नको आरबीबी मर्चेन्ट बैंकिङ्गका प्रतिनिधिले जवाफ दिएका थिए। कम्पनीले कार्यक्रमबाट पुँजीबजार तथा सेयर लगानीसम्बन्धी वित्तीय ज्ञान अभिवृद्धि हुने तथा सहभागीहरू डिजिटल माध्यमबाट हुने ठगी र वित्तीय छलकपटका जोखिमबारे थप सचेत हुने विश्वास व्यक्त गरेको छ। आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था हो।