उद्योगबाट ग्यासको खुद्रा बिक्री रोक्न विक्रेता महासंघको माग


काठमाडौं – ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट हुँदै आएको ग्यासको खुद्रा बिक्री तत्काल रोक्न नेपाल आयल निगमसँग माग गरेको छ। महासंघले निगमलाई ज्ञापनपत्र बुझाउँदै ग्यास बिक्री वितरणको जिम्मेवारी डिलरमार्फत मात्रै सञ्चालन हुने व्यवस्था गर्न आग्रह गरेको हो।

महासंघले उद्योगहरूले प्रत्यक्ष रूपमा उपभोक्तालाई ग्यास बिक्री गर्दा बजार व्यवस्थापनमा समस्या उत्पन्न भएको जनाएको छ। बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर रहेको अवस्थामा पनि ग्यास अभाव देखिन थालेको भन्दै उद्योगबाट हुने खुद्रा बिक्रीप्रति महासंघले आपत्ति जनाएको हो।

महासंघका अनुसार ग्यास उद्योगहरूले नयाँ सिलिन्डर २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्। यस्तो अवस्थामा निगम र सरकार मौन बसेको भन्दै महासंघले उद्योगी, निगम तथा सरकारी निकायको कार्यशैलीप्रति प्रश्न उठाएको छ।