काठमाडौं- शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान)सँगको सहकार्यमा स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको छ । यससँगै स्याकम्यानले नेपालको तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन क्षेत्रमा प्रवेश गरेको छ ।
व्यावसायिक क्षेत्रका चुनौतीपूर्ण आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको X5000e इलेक्ट्रिक प्राइम मुभर भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि उपयुक्त रहेको छ भने X5000e इलेक्ट्रिक टिपर निर्माण, खानी तथा अन्य चुनौतीपूर्ण अफ–रोड सञ्चालनका लागि डिजाइन गरिएको छ।
वै मोडलमा इलेक्ट्रिक पावरट्रेन र ६×४ ड्राइभट्रेनका साथै फास्ट चार्जिङ क्षमता, रिजेनेरेटिभ ब्रेकिङ तथा इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणाली जस्ता विशेषता रहेका छन् । यी प्रविधिले चुनौतीपूर्ण व्यावसायिक परिस्थितिमा सवारीसाधनको प्रभावकारी र भरपर्दो सञ्चालनमा सहयोग पुर्याउने उद्देश्य राखेका छन्।
स्याकम्यान X5000e का दुवै मोडलमा विद्युतीय पावरट्रेन प्रविधिसँगै चालकको आराम र सञ्चालन प्रभावकारितालाई ध्यानमा राखिएका विभिन्न सुविधाहरू समावेश छन्। यी सवारीसाधनमा एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ तथा ठूलो इन्स्ट्रुमेन्ट डिस्प्ले लगायत हेभी–ड्युटी व्यावसायिक सञ्चालनका लागि आवश्यक सुरक्षा तथा नियन्त्रण प्रणालीहरू उपलब्ध छन्।
स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ तोकिएको छ भने स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ तोकिएको छ।
यी दुई मोडलको आगमनसँगै जगदम्बा मोटर्सले आफ्नो व्यावसायिक सवारीसाधन पोर्टफोलियोलाई विद्युतीय हेभी–ड्युटी सेग्मेन्टमा विस्तार गर्दै नेपालको यातायात, निर्माण, खानी तथा औद्योगिक क्षेत्रका लागि नयाँ विद्युतीय मोबिलिटी समाधानहरू प्रस्तुत गरेको छ।






About Us
प्रतिक्रिया