काठमाडौं – एसियाली विकास बैंक (एडिबी) ले विद्युत् प्रसारण र ब्याट्री भण्डारणका सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजनामा निजी क्षेत्रको लगानी सहज बनाउन नेपाल सरकारसँग दुई वटा पीपीपी लेनदेन सल्लाहकार सेवा (टीएएस) सम्झौता गरेको छ। नेपालमा एडिबीले गरेको यस्तो पहिलो सम्झौता हो। सम्झौतामा एडिबीका नेपालका लागि कन्ट्री डाइरेक्टर अर्नो कोसोइस र नेपाल विद्युत् प्राधिकरण (एनईए) का प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले हस्ताक्षर गरे।
‘नेपालले जनतामा बिजुली पुर्याउने क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ, बिजुलीमा पहुँच सन् २०१६ मा ५८ प्रतिशतबाट सन् २०२५ मा ९९ प्रतिशत पुगेको छ,’ कोसोइसले भने, ‘अबको चुनौती यो प्रगतिलाई भरपर्दो आन्तरिक आपूर्ति र दिगो निर्यात क्षमतामा रूपान्तरण गर्नु हो। यो हासिल गर्न प्रसारण र ब्याट्री भण्डारण पूर्वाधारको समयमै विस्तार आवश्यक पर्छ, जसमा यी लगानी ठुलो स्तरमा सम्पन्न गर्न आवश्यक पुँजी, विशेषज्ञता र दक्षता परिचालन गर्न निजी क्षेत्रको सहभागिता महत्त्वपूर्ण हुन्छ।’
यी दुई सम्झौता एडिबीका सदस्य मुलुकमा विद्युत् प्रसारण पीपीपी र एकल युटिलिटी–स्केल ब्याट्री ऊर्जा भण्डारण प्रणाली पीपीपीका लागि एडिबीले गरेका पहिलो लेनदेन सल्लाहकार सेवा हुन्। सम्झौताअन्तर्गत एडिबीले एनईएलाई सम्भाव्यता अध्ययन, परियोजना सम्झौताको तयारी, खरिद, टेन्डर र क्षमता विकासमा सहयोग गर्नेछ। यी परियोजनाबाट २० करोड अमेरिकी डलरभन्दा बढी निजी क्षेत्रको लगानी परिचालन हुने अपेक्षा गरिएको छ।
‘यी लेनदेन सल्लाहकार सेवा सम्झौतामार्फत एडिबीले गरेको साझेदारीको हामी कदर गर्छौँ, जसले रणनीतिक रूपमा महत्त्वपूर्ण प्रसारण लाइन आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणालीलाई अघि बढाउन, निजी क्षेत्रको लगानी आकर्षित गर्न र नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन वृद्धि तथा दिगोपनमा सहयोग पुर्याउन मद्दत गर्नेछ,’ श्रेष्ठले भने।
पहिलो सम्झौताले टिङ्ला–न्यु खिम्ती–ढल्केबर खण्डमा पर्ने करिब १३४ किलोमिटर लामो, ४०० किलोभोल्टको प्रसारण लाइनको डिजाइन, वित्तीय व्यवस्था, निर्माण, सञ्चालन र मर्मत सम्भारलाई सहयोग गर्नेछ। यो आयोजनाले ग्रिडको भरपर्दोपन बढाउने, नवीकरणीय ऊर्जाको अझ बढी समायोजन सहज बनाउने र क्षेत्रीय विद्युत् व्यापारलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
दोस्रो सम्झौताअन्तर्गत पीपीपी मोडलमा एनईएका छनोट गरिएका सबस्टेशनहरूमा १००–१५० मेगावाट घण्टाको युटिलिटी–स्केल, बहु–स्थलीय (मल्टिसाइट) बीईएसएसको डिजाइन, वित्तीय व्यवस्था, जडान र सञ्चालन गरिनेछ। बीईएसएसले उच्च माग हुने समयमा ग्रिडमा पर्ने चाप समाधान गर्न, परिवर्तनशील नवीकरणीय ऊर्जाको समायोजन सहज बनाउन, र प्रणालीको स्थायित्व तथा भरपर्दोपन बढाउन ग्रिड व्यवस्थापन र सहायक सेवा उपलब्ध गराउनेछ।






About Us
प्रतिक्रिया