पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता


काठमाडौं – पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट पारित गरेको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको हो।

विश्वविद्यालयले आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार र चिकित्सा शिक्षाको विस्तारलाई प्राथमिकतामा राखेको छ। मोरङको गोठगाउँस्थित ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना विकास गर्ने कार्यक्रम बजेटमा समेटिएको छ। कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स र साइबर सेक्युरिटीलगायत क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम सञ्चालन गर्ने तयारी विश्वविद्यालयको छ। चिकित्साशास्त्र र इन्जिनियरिङतर्फ पनि विशिष्टीकृत पाठ्यक्रम विकास गर्ने योजना छ।

विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक सेवा डिजिटल प्रणालीमा जोड्ने कार्यक्रमसमेत अघि सारिएको छ। एकीकृत डिजिटल इकोसिस्टममार्फत सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ। चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल आगामी वर्ष निर्माण सम्पन्न गर्ने योजना छ। कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुधारका कार्यक्रम पनि सञ्चालन गरिनेछ।

सभालाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले प्रविधि र विश्वव्यापीकरणको मागअनुसार उच्च शिक्षामा परिवर्तन आवश्यक रहेको बताए। विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नगरी रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो। पारित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा निर्धारण गर्न उनले निर्देशन दिए।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनसँगै शैक्षिक प्रणाली सुधारमा ध्यान दिनुपर्ने बताए। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विश्वविद्यालयको बजेट तथा नीति कार्यक्रम सकारात्मक रहेको धारणा राखे। विश्वविद्यालयले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ। विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने र पछाडि परेका वर्गका लागि समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने योजना पनि बजेटमा समेटिएको छ।

सभाले कार्यकारी परिषद्का लागि तीन वर्षका लागि तीन जनालाई मनोनयन गरेको छ। चिकित्साशास्त्र संकायकी डीन प्रा.डा. परिचा उपाध्याय ढुंगेल, कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन प्रा.डा. कृष्णप्रसाद पाण्डे र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, विराटनगरका प्राध्यापक मोहनबहादुर बस्नेत कार्यकारी परिषद्मा मनोनित भएका छन्। पारित बजेट तथा कार्यक्रममार्फत पूर्वाञ्चल विश्वविद्यालयलाई गुणस्तरीय, अनुसन्धानमुखी, प्रविधिमैत्री र आत्मनिर्भर शैक्षिक संस्थाका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।