चाडपर्व नजिकिँदै गर्दा ५ रुपैयाँ घटाएर चामल बिक्री


गोरखा – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ। दसैँतिहारलाई लक्षित गरी शाखाले चामलमा साविकभन्दा प्रतिकिलो पाँच रुपैयाँ मूल्य घटाएर सहुलियत मूल्यको चामल बिक्री गर्न थालेको खाद्य व्यवस्था कार्यालयकी प्रमुख रञ्जना केसीले बताइन्। 

कार्यालयको वार्षिकउत्सवको अवसर पारेर साउन २८ गतेदेखि सहुलियतको चामल बिक्री सुरु गरेको उनले जानकारी दिइन्। अनुसार कार्यालयबाट स्टिम जिरा मसिना र अरुवा सोना मन्सुली चामल छुट मूल्यमा बिक्री हुँदै आएको छ। यस वर्षका लागि कार्यालयको गोरखा शाखामा ३८० क्विन्टल सिर्दिबास डिपोका लागि १९० क्विन्टल तथा बिक्री केन्द्र नामरुङ र चुमलिङका लागि पनि १९० क्विन्टल चामल छुट मूल्यमा बिक्री गर्न कोटा निर्धारण भएको थियो।

सोअन्तर्गत शाखा कार्यालय गोरखाबाट अरुवा सोना मन्सुली चामल प्रतिकिलो ६२ रुपैयाँबाट घटेर ५७ रुपैयाँमा बिक्री भइरहेको छ। स्टिम जिरा मसिनो चामल प्रतिकिलो ९२ रुपैयाँबाट घटेर ८७ रुपैयाँका दरले बिक्री गरिरहेको कार्यालय प्रमुख केसीले जानकारी दिइन्। 

खाद्यको सिर्दिवास डिपो तथा बिक्री केन्द्र नामरुङ र चुमलिङबाट भने अरुवा सोना मन्सुली चामल प्रतिकिलो ६५ रुपैयाँबाट घटेर ६० रुपैयाँ र स्टिम जिरा मसिनो चामल प्रतिकिलो ९५ रुपैयाँबाट घटेर ९० रुपैयाँका दरले बिक्री गरिरहेको कार्यालय प्रमुख केसीको भनाइ छ । उनका अनुसार छुट कोटाको मौज्दात नसकिएसम्म बिक्री केन्द्रबाट सहुलियतको चामल उपलब्ध हुन्छ । छुट कोटाको मौज्दात सकिएपछि भने पुरानै दरमा चामल खरिद बिक्री हुने उल्लेख छ।

चालु आर्थिक वर्ष २०८३/८४ का लागि खाद्यको सिर्दिवास डिपो, नाम्रुङ बिक्री केन्द्र तथा चुम्लिङ बिक्री केन्द्रका लागि एक, एक हजार क्वीन्टल चामलको कोटा निर्धारण भएको छ। शाखा कार्यालय गोरखाका लागि भने आवश्यकताअनुसार चामल ढुवानी हुने बताइएको छ। कार्यालयको सिर्दिवास डिपोमा हाल ७०० क्वीन्टल चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले जनाएको छ।