नारायणीको बाढीले सुस्ताका १७० घरधुरी प्रभावित


नवलपरासी पश्चिम – नारायणी नदीको बाढी बस्तीमा पस्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का विभिन्न क्षेत्र डुबानमा परेका छन्। नदीको बहाव बढेसँगै थारुटोल, सैनिक टोल, पहाडी टोल र बड्का टोलका करिब १७० घरधुरी प्रभावित भएका छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले उद्धार तथा सुरक्षित स्थानान्तरणको काम तीव्र बनाएको छ। प्रहरीले वृद्धवृद्धा, महिला तथा बालबालिकासहित करिब ४०० जनालाई सुरक्षित रूपमा विपद् व्यवस्थापन भवनमा स्थानान्तरण गरेको जनाएको छ।

नारायणी नदीको बहाव अझै बढ्ने क्रम जारी रहेकाले जोखिममा रहेका थप नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

बाढीका कारण इलाका प्रहरी कार्यालय सुस्ता परिसरसमेत डुबानमा परेको छ। कार्यालयमा रहेका हातहतियार तथा अन्य प्रहरी सामग्रीलाई सुरक्षित स्थानमा सारिएको छ।

उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम, इलाका प्रहरी कार्यालय सुस्ता, इलाका प्रहरी कार्यालय बेलाटारी, सशस्त्र प्रहरी बलअन्तर्गत बीओपी सुस्ता तथा नेपाली सेनाको टोली विपद् उद्धार सामग्रीसहित परिचालन गरिएको छ।

प्रहरीका अनुसार हालसम्म बाढीबाट मानवीय तथा पशुचौपायमा कुनै क्षति भएको छैन। जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखेर सुरक्षा निकाय परिचालन गरिएको छ।