काठमाडौं – लगातार वर्षाको कारण देशका विभिन्न ठाउँमा डुबान तथा पहिरोमा परेका घरपरिवारलाई सशस्त्र प्रहरीले उद्धार गर्नुका साथै उक्त घरपरिवारका सामान सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ। चितवनको भरतपुर महानगरपालिका–१६ झनझने गुम्बाचोकस्थित नारायणी नदीमा अविरल वर्षाको कारण डुबानमा परी घरको छतमा बसेको ६ जनालाई सशस्त्र प्रहरीले असोज ११ गते बिहान सकुशल उद्धार गरेको छ।
साथै, उक्त नदीमा पानीको बहाव बढ्न गई डुबानमा परेका ३ घरपरिवारको सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। डुबानमा परेकाहरूको उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १० गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरीको टोली खटिएको छ। त्यसैगरी धनुषा जिल्लाको मिथिला नगरपालिका–११ बर्दिवासस्थित सिन्धुली सडक खण्ड नजिकै रहेको आँपगाछीमा वर्षाको कारण पहिरोले पुरिएर कमला श्रेष्ठको निधन भएको छ।
सो ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिजबाट खटिएको सशस्त्र प्रहरीसहित नेपाली सेना र नेपाल प्रहरी र स्थानीय बासिन्दाले पहिरो पन्छाई उनको शव निकालेको हो। उनको परिवारमा रहेका अन्य ४ जना भने सकुशल रहेका छन्। त्यस्तै पाल्पा माथागढी नगरपालिका–३ स्थित भैसेकट्टामा असोज १० गते राती अविरल वर्षाको कारण पहिरोमा परी ३ वटा घर पुरिएको छ। उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली जेसीबीको सहयोगमा पहिरो पन्छाउने कार्य गरिरहेको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित भुजुङ्गेमा असोज १० गते वर्षाको कारण पहिरोको उच्च जोखिममा करिब २८ घरपरिवारका ८५ जनालाई उक्त नगरपालिकास्थित वडा कार्यालय तथा बहुउद्देश्यीय सामुदायिक भवनहरुमा सुरक्षित स्थानान्तरण गरेको छ।त्यसैगरी असोज १० गते बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ टपरा गाउँस्थित सर्जु खोलाको आएको बाढी कारण सुकुम्बासी बस्ती डुबानमा परेको छ। उक्त स्थानमा रहेका १५ घरपरिवारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कट्टीबाट खटिएको सशस्त्र प्रहरी टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।
पश्चिम नवलपरासी जिल्लाको सुस्ताका विभिन्न ठाउँमा नारायणी नदीमा पानीका बहाव बढी डुबानमा परेका सयौँ नागरिकहरूलाई होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ, भने सोही जिल्लाको सरावल गाउँपालिका–७ बर्गदवामा खजुरा खोलाको बाढी गाउँमा पस्न नदिन सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुजहवाको टोलीले बोरामा माटो भरेर तटबन्ध बाँध्ने कार्य गरेको छ।
रूपन्देहीको जितगढीस्थित विभिन्न ठाउँहरूमा जोखिममा परेका नागरिकहरूलाई सुरक्षा बेस बुटवलबाट खटिएको टोलीले विद्यालय भवनमा सुरक्षित स्थानान्तरण गरेको छ भने तिनाउ खोलाको कटान क्षेत्रमा पनि टोली परिचालन भई सुरक्षा प्रबन्ध मिलाइएको छ। त्यस्तैगरी म्याग्दीको बेनी स्थित फोटिया टोलमा पहिरोको जोखिममा परेका घरपरिवारलाई गलेश्वर मन्दिरको आश्रममा सारिएको छ, भने अन्य प्रभावित क्षेत्रहरूमा पनि सशस्त्र प्रहरीको उद्धार टोली निरन्तर खटिरहेको छ।






About Us
प्रतिक्रिया