ताप्लेजुङ-ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा भीषण आगलागी भएको छ। स्थानीय दाबा शेर्पाको घरबाट बिहीबार दिउँसो सुरु भएको आगो तीव्र रूपमा फैलिँदा ५ भन्दा बढी घरमा सल्किएको प्रहरीले जनाएको छ।
बाक्लो बस्ती रहेका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कमल बजागाईँले जानकारी दिए। आगो फैलिन नदिन आसपासका घरहरू भत्काउने कामसमेत सुरु गरिएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि फुङलिङ बजारबाट दुईवटा दमकल घटनास्थलतर्फ पठाइएको छ। साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालन गरी आगो नियन्त्रणको प्रयास भइरहेको छ।
करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा आगलागी भएकाले थप घरमा क्षति पुग्न नदिन सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय छन्। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। दोभान बजारमा यसअघि पनि भीषण आगलागी भएको थियो। केही वर्षअघि भएको आगलागीमा करिब १० घर जलेका थिए।






About Us
प्रतिक्रिया