नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा रौतहटका सामाजिक परिचालक यादवविरुद्ध मुद्दा 


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायकस्तर पाँचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार यादवले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रस्ट कोष समितिमा सामाजिक परिचालक पदमा नियुक्ति लिँदा बिहार मध्यवर्ती शिक्षा परिषद्, पटनाबाट जारी भएको देखिने आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरी परेको थियो।

उजुरीमाथि अनुसन्धान गर्दा यादवले उक्त प्रमाणपत्र पेस गरी नियुक्ति लिएको र त्यसकै आधारमा हालसम्म राष्ट्रसेवकको हैसियतमा कार्यरत रही पद, लाभ तथा सुविधा प्राप्त गरेको देखिएको अख्तियारले जनाएको छ। यादवले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको आयोगको दाबी छ।

आयोगले यादवमाथि भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।