आधारभूत शेयरधनीले शेयर बेच्नुअघि पूर्वसूचना दिनुपर्ने, यस्तो छ सेबोनको नयाँ व्यवस्था

कारोबारपछि पनि सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कम्पनीका आधारभूत शेयरधनीहरूले शेयर बिक्री गर्नुअघि धितो पत्र बजारलाई अग्रिम सूचना दिनुपर्ने व्यवस्था तथा सो व्यवस्थाको औचित्य, अन्तर्राष्ट्रिय अभ्यास तथा प्रस्तावित नियामकीय ढाँचा सम्बन्धी अवधारणा पत्र, २०८३ सार्वजनिक भएकाे छ। नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले शेयर बजारको निगरानी, लगानीकर्ता संरक्षण तथा व्यवस्थित कारोबारको साधनका रूपमा विकास गर्ने उद्देश्यले उक्त अवधारणा पत्र सार्वजनिक गरेको हो।

बोर्डका अनुसार नेप्सेमा सूचीकृत कम्पनीका कुनै आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयर पाँच प्रतिशत वा सो भन्दा बढी शेयर बिक्री गर्ने भएमा बिक्री गर्न चाहेको शेयरको बिक्री गर्नुभन्दा पन्ध्र दिन अगाडि कम्पनीलाई जानकारी गराइ उक्त सूचना नेप्से मार्फत सार्वजनिक निष्कासन व्यवस्था मिलाउनका लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ (१) दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको हो।

बोर्डका अनुसार उक्त निर्देशनबाट लगानीकर्ताहरूको सूचनामा समान पहुँच सुनिश्चित गर्न, लगानीकर्तालाई सूचित निर्णय गर्न सक्षम बनाउन, बजारमा सम्भावित आपूर्तिको पूर्वानुमान गर्न, असामान्य मूल्य प्रतिक्रियाको पहिचान गर्न र धितो पत्र कसुर एवम् बजार दुरुपयोग निगरानीमा सहयोग पुर्‍याउनु रहेको छ।