२९ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान


काठमाडौं – नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीले २९ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ४० औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो।

उक्त तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे । सो अवसरमा उनले विपद् उद्दारकर्मीको रूपमा खटिँदा संवेदनशील र सुरक्षित भई तालिममा प्राप्त ज्ञान र सीपको विवेकपूर्ण ढंगले प्रयोग गरी आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक देबेन्द्र कुमार मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै साउन ४ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २३ जना गरी कुल २९ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए। सो अवसरमा प्रशिक्षार्थीहरूबाट विपद् उद्दार अभ्यास सम्बन्धी विभिन्न कलाहरू समेत प्रस्तुत गरिएको थियो।