बाँके – बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले मंगलबार ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये अन्य दुई जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूका साथबाट प्रहरीले २८ थान ल्यापटप र ७८ थान विभिन्न कम्पनीका मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।
उनले कहिलेदेखि खेल खेलाएको, कसरी खेलाएको र कति गेम खेलाइएको भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए। पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयको नेपालगन्जस्थित हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालयले गत भदौ महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्राथमिकता दिँदै विभिन्न प्रकृतिका १५२ मुद्दा दर्ता गरेका छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका अपराध, महिला–बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित र आर्थिक अपराधका घटनासँग सम्बन्धित छन्।
प्रहरीका अनुसार सात वटा जघन्य र ५१ वटा गम्भीर प्रकृतिका अपराधसँग सम्बन्धित मुद्दा छन्। त्यस्तै ९४ वटा सामान्य प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १८ वटा घटना दर्ता भएकामा त्यसमा संलग्न १५ जना पक्राउ परेको उनले बताए। त्यसैगरी, आर्थिक अपराधसम्बन्धी २६ वटा घटना दर्ता भएका थिए। अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ प्रहरीले चालु मुद्दाका १३७ जना प्रतिवादी पक्राउ गरेको छ।






About Us
प्रतिक्रिया