काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जना र छल निर्माण सेवा प्रालि, दुनैविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित हरियापानी–पालुङ–माझफाल हुँदै रुकुम जोड्ने मोटरबाटो निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा भएको ठेक्का प्रक्रियामा अनियमितता भएको उजुरीमाथि अनुसन्धान गर्दा सार्वजनिक खरिद प्रक्रियामा बदनियतपूर्ण ढंगले काम गरेको देखिएको हो।
उक्त सडक योजनाका लागि नगरपालिकाले मूल्य अभिवृद्धि कर, पीएस र कन्टिजेन्सीसहित १ करोड ८ लाख २६ हजार ८९७ रुपैयाँ ८६ पैसा लागत अनुमान स्वीकृत गरेको थियो। ठेक्का आह्वानपछि सात निर्माण व्यवसायीले बोलपत्र पेस गरेका थिए। आयोगको अनुसन्धानबाट बोलपत्र मूल्याङ्कनका क्रममा लक्षित बोलपत्रदाताबाहेक अन्य सहभागीलाई प्रतिस्पर्धाबाट बाहिर पार्ने उद्देश्यले खरिद प्रक्रियामा थप शर्त राखिएको देखिएको जनाएको छ। आयोगका अनुसार प्रोप्राइटर तथा सञ्चालकको नागरिकताको प्रमाणपत्रसम्बन्धी शर्त राखेर अन्य बोलपत्रदातालाई प्रतिस्पर्धाबाट वञ्चित गरिएको थियो।
त्यसैगरी, बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशन गर्दा कानुनबमोजिम पुनरावलोकनका लागि दिनुपर्ने सात दिनको अवधि प्रभावकारी रूपमा उपलब्ध नगराइएको पनि अनुसन्धानबाट खुलेको आयोगको दाबी छ। आयोगका अनुसार सबैभन्दा कम ३० लाख ९९ हजार ८१८ रुपैयाँ ४४ पैसा कबोल गर्ने निर्माण सेवालाई अयोग्य ठहर गरिएको थियो। त्यसपछि सबैभन्दा बढी १ करोड ४ लाख ६१ हजार ७७२ रुपैयाँ १ पैसा कबोल गर्ने छल निर्माण सेवा प्रालि, दुनैलाई ठेक्का प्रदान गरिएको थियो। यसरी सबैभन्दा कम र सबैभन्दा बढी कबोल रकमबीच ७३ लाख ६१ हजारको फरक रहेको आयोगले जनाएको छ। आयोगले उनीहरूमाथि ७३ लाख ६१ हजार बिगो असुल उपरको मागदाबी गरी आज विशेष अदालत, काठमाडौंमा दायर गरेको हो।






About Us
प्रतिक्रिया