साउनमा बैंकहरुले गरे निजी क्षेत्रमा २३ अर्ब ५८ करोड लगानी


काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशतले बढेको छ। साउनमा २३ अर्ब ५८ करोडले बढेको निजी क्षेत्रमा जाने कर्जा ५८ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ। नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ अर्ब ९३ करोडले घटेको थियो। वार्षिक विन्दुगत आधारमा २०८३ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.० प्रतिशतले बढेको छ।

केन्द्रीय बैंककाअनुसार २०८३ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत रहेको थियो।

यस्तै, निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ०.५ प्रतिशत र वित्त कम्पनीहरूको ०.१ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको ०.३ प्रतिशतले घटेको छ। २०८३ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५.३ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.० प्रतिशत रहेको छ। २०८२ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.८ प्रतिशत र ६४.४ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फ ३.७ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फ३.० प्रतिशत, निर्माण क्षेत्रतर्फ २.१ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फ १.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १.२ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फ ०.८ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ०.३ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रतर्फ ०.३ प्रतिशतले बढेको छ भने वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फ ५.१ प्रतिशत, कृषि क्षेत्रतर्फ ०.९ प्रतिशत र उपभोग्य क्षेत्रतर्फ ०.६ प्रतिशतले घटेको छ।

साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.५ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १.० प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.७ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले बढेको छ भने विपन्न वर्ग कर्जा ७.३ प्रतिशत, अधिविकर्ष कर्जा २.६ प्रतिशत, क्यास क्रेडिट कर्जा १.१ प्रतिशत र माग तथा अन्य चालु पुँजी कर्जा ०.५ प्रतिशतले घटेको छ।