नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो, प्रहरी सहायक निरीक्षकसहित ३३४ कर्मचारी माग


काठमाडौं – नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ। 

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रवार एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

प्रहरीका अनुसार असई २११ जना, प्रहरी कार्यालय सहायक (भान्छे) ८३ जना, हजाम १५ जना र कुचिकार २५ जना गरी कुल ३३४ वटा पदमा नयाँ भर्ना खुलाएको छ।  इच्छुक उम्मेदवारले १२ असोजदेखि १० कात्तिकसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।