पूँजी बजार सुधारका २१ बुँदा कार्यान्वयनमा आए वास्तविक माग र दीर्घकालीन पूँजी बढाउने छ: अध्यक्ष फुल्लेल


काठमाडौं – शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुल्लेलले अर्थ मन्त्रालयले सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३ मा समेटिएका २१ बुँदा माग कार्यान्वयनमा आए पुँजी बजारमा वास्तविक माग र दीर्घकालीन पूँजी बढाउन सकिने बताएका छन्। अध्यक्ष फुल्लेलले कार्ययोजनाका २१ बुँदालाई पुँजी बजामा पार्न सक्ने प्रभावबारे विश्लेषण गर्दै दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन, शेयर बजारमा स्थायी पूँजी बढ्न सक्ने, घाटा वा नाफाको वास्तविक हिसाबबाट कर लाग्ने व्यवस्था भए लगानीकर्तालाई ठूलो राहत हुन सक्ने धारणा राखेका हुन्।

२१ बुँदामा समेटिएका विषयहरूमध्ये गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनमा संशोधन प्रस्ताव गर्ने विषयलाई सबैभन्दा महत्वपूर्ण बुँदाका रूपमा लिएका छन्। उनले यो बुँदा कार्यान्वयनमा आए शेयर लगानीकर्ताको दृष्टिकोणबाट तत्कालै ठूलो प्रभाव पार्न सक्छने बताएका छन्।

त्यस्तै, फुल्लेलले कार्ययोजनाको १५, १६, २० र २१ बुँदालाई समेत विशेष महत्व दिएका छन्। कार्ययोजनाको १५ नम्बर बुँदामा रहेको संस्थागत लगानीकर्तालाई प्राथमिक तथा दोस्रो बजारमा सहभागी गराउन आवश्यक नीति, कानुन र पूर्वाधार तयार गर्ने, त्यस्तै, १६ बुँदा अन्तर्गत संस्थागत लगानीकर्ताको पोर्टफोलियो रिब्यालेन्सिङ, दीर्घकालीन शेयर लगानीलाई कर प्रोत्साहन र २१ नम्बर बुँदा अन्तर्गत बैंक तथा वित्तीय संस्थाको दोस्रो बजार लगानी गर्ने विषयलाई उनले विशेष महत्व दिएका हुन्।