शेयर सम्बन्धी विषय विद्यालय शिक्षामै अनिवार्य गर्न अपरिहार्य छः अध्यक्ष पौड्याल


काठमाडौं – नासा सेक्युरिटिजका अध्यक्ष मदन पौड्यालले पुँजीबजार सम्बन्धी साक्षरतालाई विद्यालय तथा कलेजको पाठ्यक्रममै अनिवार्य रूपमा समावेश गर्नुपर्नेमा जोड दिएका छन्।

बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ को दोस्रो सत्र ‘सचेत लगानीकर्ता, सबल पुँजी बजार: सचेतना र साक्षरताको भूमिका’ मा आफ्नो विचार राख्दै अध्यक्ष पौड्यालले आधारभूत तहदेखि नै शेयर बजार सम्बन्धी शिक्षा दिनु अपरिहार्य भइसकेको बताए।

‘जबसम्म हामीले विद्यालय र कलेजस्तरमै लगानीकर्ता शिक्षा समावेश गर्दैनौँ, तबसम्म पुँजीबजारमा वास्तविक साक्षरता ल्याउन कठिन हुन्छ,’ पौड्यालले भने, ‘त्यसैले शेयर बजार र लगानी सम्बन्धी विषयलाई विद्यालय शिक्षामा अनिवार्य गरिनुपर्छ।’

बजारमा लगानीकर्ताहरू अध्ययन र विश्लेषणभन्दा पनि अफवाहको पछि लाग्ने गरेकोमा चिन्ता व्यक्त गर्दै उनले थपे, ‘हाल धेरैजसो लगानीकर्ताहरू बजारको वास्तविक अवस्था नबुझी सामाजिक सञ्जाल—विशेष गरी टिकटक र फेसबुकका आधारहीन हल्लाको पछि लागेर लगानी गरिरहेका छन्। यो निकै जोखिमपूर्ण हो।’

आफ्नो मुख्य उद्देश्य लगानीकर्ताहरूलाई लगानी गर्नुपूर्व त्यस सम्बन्धी सही ज्ञान र चेतना दिनु रहेको स्पष्ट पार्दै अध्यक्ष पौड्यालले लगानीकर्ताहरूलाई सामाजिक सञ्जाल वा अरूको हल्लाको भरमा नपरी बजारको समग्र स्थिति र कम्पनीको अवस्था बुझेर मात्र लगानी गर्न आग्रह गरे।