अर्थ मन्त्रालयमा निर्भर हुनुपर्दा सेबोनको कार्यक्षमतामा प्रभाव परेको छः कार्यकारी निर्देशक आचार्य


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक विनयदेव आचार्यले धितोपत्र बजारलाई थप व्यावसायिक र प्रविधिमैत्री बनाउन कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको बताएका छन्।

बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को पहिलो सत्र ‘प्रडक्ट, पोलिसी एन्ड रेगुलेशनः द फ्यूचर अफ नेपाल्स क्यापिटल मार्केट’ मा बोल्दै आचार्यले विद्यमान ऐन तथा नियमले धितोपत्र बजारलाई केही हदसम्म प्रविधिमैत्री बनाएपनि अझै केही कानुनी व्यवस्था परिवर्तन गर्नुपर्ने बताए।

उनले सेबोनको वर्तमान सञ्चालक संरचनालाई थप व्यावसायिक बनाउनुपर्ने आवश्यकता औंल्याए। निजी तथा सरकारी क्षेत्रका प्रतिनिधि रहने वर्तमान व्यवस्थामा सुधार गर्दै विज्ञता र व्यावसायिकतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।आचार्यले सेबोनको स्वायत्ततामा समेत जोड दिनुपर्ने बताए।

सामान्य नियम तथा कानुनी व्यवस्था गर्नसमेत अर्थ मन्त्रालयमा निर्भर हुनुपर्ने अवस्थाले बोर्डको कार्यक्षमतामा प्रभाव पार्न सक्ने उनले उल्लेख गरे। बजारमा नयाँ प्रविधि भित्र्याउन समेत कानुनी आधार आवश्यक पर्ने भन्दै आचार्यले प्रविधिको विकाससँगै कानुनी व्यवस्थालाई पनि समयानुकूल बनाउनुपर्ने बताए।